कालीगण्डकीले कोप्चेपानीमा रहेको विद्यालय भवन बगायो

  • ३० श्रावण २०७५, बुधबार
  • सन्तोष गौतम
  • 2410 पटक पढिएको

म्याग्दी ३० साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ कोप्चेपानी स्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन कालीगण्डकीले बगाएको छ । कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्दा बुधबार बिहान छ कोठे कक्षा कोठा भवन बगाएको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताउनुभयो । कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा बिस जना विद्यार्थीहरु अध्ययनरत छन् ।

                                              तस्बिरः चित्रदास बैरागीको फेसबुकबाट

केही दिन देखिको निरन्तरको बर्षासंगै कालीगण्डकी नदीमा आएको बाढीले करिब चालीस मिटर बस्तीतर्फ कटान गरेर भवन बगाएको हो । पाँच दिनअघि कालीगण्डकीले धार परिवर्तन गरेर कटान सुरु गरेको थियो । नदी कटानका कारण पर्यटकीय जिल्ला मुस्ताङ प्रवेश गर्ने पदमार्ग अवस्थित कोप्चेपानीको बस्ती जोखिममा परेको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । कोप्चेपानीमा २४ घरको बसोबास छ । कालीगण्डकी बस्तीको करिब पचास मिटर नजिकबाट बग्नथालेको छ ।

  कालीगण्डकी नदीमा उर्लिएको भेल । तस्बिर म्याग्दीअनलाइन

कालीगण्डकीको जोखिम र कटानले पु¥याएको क्षत्तीको बारेमा गाउँपालिका, जिल्लाविपद् व्यवस्थापन समितिलाई जानकारी गराएको वडा सचिव दिर्घप्रसाद गौतमले बताउनुभयो । भवन बगाएपछि पठनपाठन प्रभावीत भएको छ । कक्षा सञ्चालनका लागि बैकल्पीक व्यवस्थाको खोजी भैरहेको छ ।

t

सन्तोष गौतम