गलेश्वरधामा साउन महिनामा एक लाख बढी भक्तजन भित्रिए (भिडियो सहित)

  • २८ श्रावण २०७५, सोमबार
  • कमल खत्री
  • 3886 पटक पढिएको

म्याग्दी, २८ साउन । बेनी नगरपालीका –९ मा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनामा १ लाख बढी भक्तजनद्धारा पुजा अर्चना भएको छ । भगवान शिबको बिषेश पुर्जा हुने साउन महिनाका चार वटा सोमबारमा गरि करिब १ लाख २० हजारको हाराहारीमा भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यस बर्ष परेका चार वटा सोमबारहरुमा उत्साहजनक रुपमा भक्तजनहरु आएको कोषका सदस्य सचिब माधव प्रसाद रेग्मीले बताउनुभयो । ‘‘ सबै भन्दा बढी चौथो सोमबार ३० हजार बढी भक्तजन आए, गलेश्वरमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वासले हरेक बर्ष यहाँ आउने भक्तजनको संख्या बढ्दै गएको छ,’’– सचिब रेग्मीले भन्नुभयो ।

शालीग्राम पाईने एक मात्रै कालिगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की, लगायतका क्षेत्रबाट भक्तजनहरु आएका थिए । तेस्रो सोमबारसम्म नौ लाख रुपैया भेटि संकलन भएको थियो । अन्य दिनभन्दा अन्तिम सोमबारको दिनको भेटि बढी हुने कोषको अनुमान छ ।गलेश्वर शिवालयको दर्शन तथा पुजापाठ र १०८ शिवलिङ्गमा कालिगण्डकी नदीको जल अर्पण गरेमा पारिवारीक सुख, शान्ति, ऐश्वर्य प्राप्ती हुने धार्मीक विश्वास रहेको कोषका उपाध्यक्ष पण्डीत भिमनाथ पराजुलीले बताउनुभयो ।

धार्मीक गन्थ्रहरुमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ । कालीगण्डकी नदीको किनारमा चट्टानमाथी अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने विश्वासले साउन महिनामा यहाँ भक्तजनाहरुको भिड लाग्ने गर्छ । बिशेष गरेर बिवाहीत महिलाहरु पारिवारीक सुख र अबिवाहीतहरु राम्रो वर पाइयोस भन्ने कामना सहित साउनको सोमबार शिवालयमा पुगेर पुजा गरि ब्रत बस्ने चलन रहेको छ । गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार, बाला चर्तुदर्शी र शिवरात्रीमा बिशेष धार्मीक मेला लाग्ने गर्छ ।

मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तिर्थस्थलको रुपमा परिचित छ । गलेश्वरमा भक्तजनबाट संकलन हुने भेटिलाई शिवालय क्षेत्र विकास कोषले पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको छ । भेटीबाट संकलन हुने रकम गलेश्वरमा पूर्वाधार निर्माण र सामाजिक कार्यहरुमा खर्चिदै आइएको छ । गलेश्वरमा आउने हजारौँ भक्तजनहरुको कारण मन्दिरमा चढाउने नरिवल संगै फुलप्रसादको व्यापार समेत ह्वात्तै बढ्ने गरेको छ ।

गलेश्वरमा साउने सोमबारको दिन भक्तजनको संख्या बढी हुने भएकाले विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी, क्लब , आमा समुह लगायत विभिन्न संघ संस्थाहरुले स्वयमसेवकको रुपमा सहयोग गरेका छन् । पुजा व्यवस्थापनमा सहयोग गर्ने सबैलाई कोषले धन्यबाद समेत ज्ञापन गरेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l