ताकम एकिकृत घनाबस्ती योजनाको डिपीआर तयार

  • २७ श्रावण २०७५, आईतवार
  • गोपाल आचार्य
  • 2151 पटक पढिएको

ताकम, २७ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकमको घनाबस्ती पूर्वाधार निर्माण आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्धारा नियुक्त परामर्शदाताले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदन शनिबार ताकममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।

एकिकृत बस्ती विकासका लागि व्यवस्थित रुपमा आधारभुत पूर्वाधार निर्माणका लागि दश वर्षे कार्ययोजना सहितको डिपीआर तयार पारीएको डिभिजनका ईञ्जिनियर गणेश मर्हजनले बताउनुभयो ।

वि.स २०६५ देखि साविक ताकम गाविसको ३, ४, ५ र ६ नम्बर वडामा एकिकृत घनाबस्ती कार्यक्रम सञ्चालन हुदै आएको छ । साविकको ताकम गाविस र हाल गाउँपालिकाको ७ नम्बर वडाका सबै बस्तीलाई समेटेर डिपीआर तयार पारिएको हो । योजनाविद् विश्वदेव भट्टराई र समाजसास्त्री गणेश भट्टराईले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

डिभिजनका ईञ्जिनियर मर्हजन र सुदिप खड्काले डिपीआरको बारेमा प्रस्ट्याउनुभएको थियो । गाउँपालिकाका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले डिपीआर अनुसार ताकमलाई नमुना बस्तीको रुपमा विकास गर्न स्थानीय तह, प्रदेश र संघीय सरकारसंग समन्वय गरेर पूर्वाधार निर्माणको काम गरिने बताउनुभयो ।

वडा अध्यक्ष कलानिधी शर्माको अध्यक्षता, घनाबस्ती उपभोक्ता समितिका सचिव तेजेन्द्र थापाको सञ्चालन र सहसचिव रामबहादुर केसीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा ३ नम्बर वडा मुनाका अध्यक्ष तथा गाउँपालिकाको भौतिक निर्माण समितिका संयोजक पुर्म पुन, वडा सदस्य अमृता भण्डारी र युवा नेता किरन थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

खानेपानी, सडक, नाली, विद्युतीकरण, ढल निकास, फोहोर ब्यवस्थापन, भवन, धार्मीक पर्यटकीय स्थलको संरक्षण तथा पूर्वाधार निर्माण गरी व्यवस्थित बस्ती विकास गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । कार्यक्रम अन्तरगत ताकम स्वास्थ्य चौकी, सभाहल, खेलमैदान, सडक र नाली निर्माण गरिएको छ ।

ताकमका तिन सय भन्दा बढी घरमा निजी धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ । धारापानीमा यस वर्ष पुगेको केन्द्रिय प्रशारण लाईनको विद्युतलाई चालु आर्थिक वर्षमा वडाका सबै बस्तीमा विस्तार गर्ने तयारी भएको छ ।

गोपाल आचार्य