ज्येष्ठ नागरिकहरुलाई सहकारीद्वारा फलफुल वितरण

  • २७ श्रावण २०७५, आईतवार
  • प्रताप बानियाँ
  • 1573 पटक पढिएको

म्याग्दी, २६ साउन ।  महिलाहरुको आफ्नै सक्रियता र व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार फलफुल वितरण गरेको छ । सहकारीको सामाजिक कार्य अन्तर्गत सञ्चालनमा रहेको मुठ्ठीदान कार्यक्रममार्फत गलेश्वरस्थित वृद्ध आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई फलफुल वितरण गरिएको हो ।

सहकारीले मौसम अनुकुल हुनेगरी ज्येष्ठनागरिकलाई स्याउ, केरा, फ्रुटी, बिस्कुटलगायत विभिन्न प्रकारका फलफुलहरु वितरण गरेको जनाएको छ । ज्येष्ठ नागरिकहरुलाई फुलफुल वितरण गर्दै सहकारीका अध्यक्ष ज्योती लामिछानेले सहकारीको सामाजिक अभियान अन्तर्गत वृद्धवृद्धा बुबा आमाहरुलाई सम्झेर फलफुल वितरण कार्यक्रम आयोजना गरिएको बताएकी छिन् ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुलीले जिल्लास्थित विभिन्न सामाजिक संघसंस्था र दानदाताहरुको सहयोगले ज्येष्ठ नागरिकहरुको व्यवस्थापन गर्न राहत मिलेको बताए । कार्यक्रम सहकारीका सचिव सुगम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । गलेश्वर ज्येष्ठनागरिक आश्रममा म्याग्दीसहित देशका विभिन्न जिल्लाका गरी करिब ६० जनाभन्दा बढी वृद्धवृद्धाहरु बस्दै आएका छन् ।

प्रताप बानियाँ