मुख्यमन्त्री गुरुङद्धारा रघुगंगा जलविद्युतको अवलोकन, विकासमा ढिलासुस्ती सह्य नहुने चेतावनी (फोटो फिचर)

  • २५ श्रावण २०७५, शुक्रबार
  • 2887 पटक पढिएको

म्याग्दी, २५ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वाधार आयोजनामा हुने ढिलासुस्ती हटाउन सार्वजनीक खरिद ऐनको संसोधन आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले शुक्रबार गलेश्वरमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री गुरुङले फितलो नितीगत ब्यवस्था, प्रक्रियामुखी कर्मचारी र प्राबिधिक तथा निर्माण ब्यवसायीको लापरबाहीका कारण पूर्वाधार आयोजनामा ढिलासुस्ती भएको बताउनुभएको हो ।

आयोजना ठेक्कामा लिएर कमिसन खाएर दोस्रो, तेस्रो पक्षलाई दिने विकृती मुख्य समस्याले सडक, सिचाई, जलविद्युत, भवन लगायतका पूर्वाधार आयोजना गुणस्तरीय नहुने र समयमै नसकीने गरेको मुख्यमन्त्री गुरुङको भनाई छ ।

मुख्यमन्त्री गृुरुङले गण्डकी प्रदेशलाई विकास र समृद्धिको अभियानमा अग्रसर गराउन गण्डकी नदी झै गतिशिल भएर काम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘‘ हामीले आबश्यक कर्मचारी संघिय सरकार समक्ष माग गरेका छौँ, वित्तिय र जनशक्ति व्यवस्थापनपछि हामी बजेट कार्यान्वयनमा जुट्छौँ,’’– उहाँले भन्नुभयो ।

यो बर्षलाई प्रदेश सरकारले पूर्वाधार निर्माण बर्षको रुपमा अगाडी बढाउन लागेको बताउँदै उहाँले गण्डकी प्रदेशका सबै नागरिकलाई दुई बर्षभित्र खानेपानी र विद्यूतिको पहुँच पु¥याउने गरि बजेटको विनियोजन गरिएको जानकारी दिनुभयो । प्रदेश सरकारले भौतिक विकास संगै सामाजिक विकासलाई पनि संगसंगै अगाडी बढाएको बताउँदै उहाँले गरिबी निवारण गर्नु प्रमुख लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

यसैबिच शुक्रवार नै बेनी जोमसोम कोरला सडक, रघुगंगा जलविद्युत र बेनी अस्पताल भवन निर्माण योजनाको अनुगमन गर्नुभएका मुख्यमन्त्री गुरुङले ठेक्का पट्टामा डनवाद सह्य नहुने भन्दै कुनै पनि बाहनामा विकास आयोजनामा ढिलाई र अवरोध हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको रघुगंगा जलविद्युत आयोजनाका अधिकारी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई समयमै गुणस्तरीय हिसाबले काम गर्न निर्देशन दिनुभएका मुख्यमन्त्री गुरुङले कालीगण्डकी कोरीडोर सडक र बेनी अस्पतालको भवन निर्माण योजनामा भएको ढिलाईप्रती असन्तुष्टि ब्यक्त गर्नुभयो ।

सो अवसरमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रतिनिधि सभा साँसद भुपेन्द्र बहादुर थापा, प्रदेश सभा साँसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले समसामयिक बिषयमा मुख्यमन्त्री गुरुङको ध्यानकर्षण गराउनुभएको थियो ।

सो अवसरमा पिप्लेका बसन्त बोगटी गुठी पिडित स्थानीयबासीलाई २ सय बर्षदेखिको गुठी समस्या समाधानको लागि ध्यानकर्षण पत्र बुझाएका थिए ।