पुल नहुँदा दोसल्ले र महभिरका स्थानीय समस्यामा, बालबालिकालाइ जाेखिम माेलेर स्कुल जानुपर्ने बाध्यता (फोटो फिचर)

  • २५ श्रावण २०७५, शुक्रबार
  • 3526 पटक पढिएको

म्याग्दी, २६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले र महभिरका बासिन्दा स्थानीय भरमला खोलामा झोलुङ्गे पुल नहुँदा समस्यामा परेका छन् । टिकोट हुँदै बग्ने भरमला खोलामा झोलुङ्गे पुल नहुँदा स्थानीयबासीलाई आवत जावतमा समस्या भएको हो ।

बर्षातसंगै खोलामा पानीको सतह बढ्ने र वारपारको लागि सुविधा नहुँदा खोलाबाटै जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता रहेको महभिरका स्थानीय धनराज गर्वुजाले बताउनुभयो ।

दोसल्ले र महभिरका बालबालिकाहरु दैनिक रुपमा यसै खोलामा जोखिम मोलेर वारपार गदै तिप्याङमा रहेको कालिका आधारभुत विद्यालयमा अध्ययनको लागि जानुपर्ने बाध्यता रहेको छ ।

हिँउदको समयमा सहजै वारपार गर्न सकिने भएपनि बर्षातको समयमा बाढीको कारण खोलामा वारपार गर्न अप्ठ्यारो हुने भएकाले तत्कालिन र दिर्घकालिन रुपमा यस खोलामा वारपारको बन्दोबस्त मिलाउनुपर्ने स्थानीयबासी सुजन शेरपुञ्जाले बताउनुभयो ।