दोस्रो जिल्ला सभाले ग¥र्यो जनचासोका बिषयमा यस्ता निर्णय !

  • २४ श्रावण २०७५, बिहीबार
  • 2303 पटक पढिएको

म्याग्दी, २४ साउन । जिल्ला समन्वय समिति म्याग्दीको दोस्रो जिल्ला सभाले जिल्लामा रहेका विभिन्न समसामयिक बिषयहरु समाधानको लागि सम्बन्धित निकायको ध्यानकर्षण गराउने निर्णय गरेको छ । विहिवार बेनीमा सम्पन्न जिल्ला सभाले रघुगंगा गाउँपालिका– २ भगवती , ३ पिप्ले र अन्नपूर्ण गाउँपालिका– १ दोबामा रहेको मुक्तिनाथ र बसन्त बोगटी गुठीको समस्या हल गर्न प्रदेश र संघिय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

करिब २ सय बर्षदेखि यहाँका स्थानीयबासीले भोग्दै आएको गुठी समस्यालाई जिल्ला सभाले बिशेष प्रस्ताबको रुपमा पारित गरि समाधानको लागि पहल थालेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले जानकारी दिनुभयो ।त्यसैगरि राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी करीडोर अन्र्तगत बेनी–जोमजोम खण्ड र महत्वपूर्ण सडक आयोजना बेनी–दरबाङ सडक कालोपत्रे योजनामा भैरहेको ढिलासुस्ती हटाई छिटो छरितो रुपम निर्माण कार्य अघि बढाउन सम्बद्ध कार्यालयको ध्यानकर्षण गराउने निर्णय भएको छ ।

त्यस्तै बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलासुस्तीलाई हटाउन, बेनी बजार संगै नदी कटानको जोखिममा रहेका बस्तीहरुको संरक्षणको लागी प्रयाप्त बजेटको व्यवस्थापन गर्न, शुन्य दरबन्दिका विद्यालयलाई न्युनतम दरबन्दिको व्यवस्था गर्न प्रदेश र संघिय सरकारसंग माग गर्ने निर्णय भएको छ । जिल्ला सभाले जिल्ला समन्वय समितिको कार्यालय परिसरमा निर्माणधिन अबस्थामा अल्पत्र परेको सभाहल निर्माणको लागि आबश्यक बजेट विनियोजनको लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग गर्ने निर्णय समेत गरेको जिसस प्रमुख केसीले जानकारी दिनुभयो ।

रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत अयोजनाको निर्माण कार्यलाई तिब्रता दिएर समयमै सम्पन्न गराउन सम्बन्धित कार्यालयसंग समन्वय गर्ने र अन्नपूर्ण हिमालको रोयल्टी अहिलेसम्म म्याग्दीमा नआएको र हाल उक्त हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने भएकाले सो हिमालको रोयल्टी अन्नपूर्ण गाउँपालिकालाई उपलब्ध गराउन माग गर्ने निर्णय भएको छ भने जिल्लामा रहेका हरेक स्थानीय तहका गौरबका आयोजना अनुगमननको लागि स्थानीय तहसंग सहकार्य गर्ने निर्णय भएको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ ।