बेनीमा ट्राफिक व्यवस्थापनको चुनौती !

  • २३ श्रावण २०७५, बुधबार
  • 2463 पटक पढिएको

हामी सबैले देखे भोगेकै कुरा हो, पछिल्लो ४/५ बर्षमा बेनीमा सवारी साधनको चाप बढेकै छ । बेनी त्यसै त सानो ठाउं । साघुरो बाटो । अनी सडक बिस्तार गर्न नसकिने अवस्थाको बस्ती छ । सवारीको चाप र तिव्र गतिका कारण बजारमा दिनानुदिन दुर्घटना भैरहेका छन् । सडकमा यातयातलाई व्यवस्थापन गर्न नसक्दा दुर्घटना लगायतबाट पिडित हुनेको संख्या बढ्दै गैरहेको त छंदै छ, त्यसमा पनि अझ सडकलाई असुरक्षित पारीरहेको छ । बालबच्चा त परै जावस् पाका मानिसहरुलाई समेत बाटोमा हिड्न साहै्र मुस्कील हुने गरेको सहजै अनुभुति हुन्छ । बजार क्षेत्र भन्दा थोरै टाढा र सवारी साधन कम आवत जावत हुने स्थानमा बस्ने मानिसहरुलाई त यी बजारका साघुरा बाटोहरु अत्यन्तै कष्टकर देखिन्छ ।

जुनसुकै बेला अप्रिय घटना घट्ने अवस्था देखिएको छ । यहि तरिकाले सडक अव्यवस्थित र असुरक्षित हुने हो भने हामी भयावह दिशा तर्फ जांदै छौं भन्ने अडकल सायद भोगाइमै आइलाग्न सक्छ । अब हामीहरु बेलैमा सचेत नहुने हो भने निकट भविष्यमा नराम्रो घटना घट्ने र त्यसको शिकार तपाईं हामी जो सुकै पनि हुन सकिने सम्भावना रहेकोले बजारको सुन्दरता र बजारबासीहरुको सुरक्षाको बहस अब जरुरी छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजारलाई जसरी सुन्दरनगरको रुपमा चिन्छि त्यसैगरि यो बजारलाई अब सुरक्षित नगरको रुपमा पनि विकास गर्नपर्छ । बेनीलाई सुरक्षीत नगर बनाउन के गर्न सकिन्छ त ? केही उपायहरुको खोजी यहाँ गर्न खोजेको छु ।
१ व्यवस्थित पार्किङ :
ट्राफिक व्यवस्थापनको पहिलो शर्त भनेको व्यवस्थित पार्कीङ हो । अहिले बजारमा क्याट्स आई राखी सकिएकोले बांकी ठाउहरुमा पनि राख्दै जाने र मोटर साईकलहरुलाई सो क्याट्स आई भन्दा भित्र राखन सकिएमा बाटो खुला रहन्छ जसले गाडिहरु अवागमनमा सहजता हुन्छ, हलुका सवारीहरुलाई बजारको खुला ठाउहरु । सरकारी कार्यालयहरुको कम्पाउन्डको अगाडि पार्किङ गर्ने र गराउने
२ गति नियन्त्रण :
बजारमा हुने अधिकांश दुर्घटनाको कारण अत्यधिक गतिमा सवारी चलाउनु नै हो । साघुरो बाटो, मुख्य सडकमा धेरै गल्लीहरु जोडिने, जथाभावी पाकीङ, अत्यधिक पैदल यात्रीकौ दैनिक भिड, गाडिको चाप यी सबैले यो बजार क्षेत्रमा १०÷१५ कि मि प्रति घण्टा भन्दा बढी गति सुरक्षित हुने देखिन्न । तर बजार क्षेत्रमा ३५ देखि माथिको गतिमा सम्म दुईपांग्रे, ट्रयाक्टर, जीप बस लगायतका सवारीहरु निर्वाध चलिरहेको हुदा दुर्घटनाको जोखिम अझै बढिरहेको छ । यसको लागि बजारमा स्पीड क्यामेरा राख्न सकिने देखिन्छ जुन । यदी यहाँको ट्राफिकलाई व्यवस्थापन नै गर्ने हो र बजारलाई सुरक्षित नै बनाउने अभियान थाल्ने हो भने यसको सुरुवात त्यती जछिल र महंगो पर्दैन् ।
३ सडक अतिक्रमणमा शुन्य सहनशिलताः
सानो भुगोलमा रहेको बेनी बजारका सडक फामैमा साघुरा छन् । अझ अतिक्रमणले त्यसलाई झनै सांघुरो बनाईरहेको छ । हुन त नगरपालिकाले अतिक्रमित संरचनालाई हटाउने भनेको पनि एक बर्ष भन्दा बढी नै भैसक्यो । घरको पेटा भन्दा बाहिरका संरचनाहरुलाई मात्र हटाउन सकियो भने पनि बाटो डेढ देखि दुइ मिटर चौडा हुन सक्छ । अर्को कुरा व्यापारिक प्रयोजनका लागि राखिएको छड्के बोर्डहरु कम्तिमा दुइतल्ला भन्दा माथिबाट राख्न सके पनि बाटो चैडा हुन्छ । निर्माण सामाग्रीहरुलाई सडकमै झार्ने र नसकिने बेला सम्म त्यहि बाट निकाल्दै काम गर्ने प्रवृति हटाउदै निर्माण सामाग्री सडकमा झारेको निश्चित घण्टामा सडक बाट निकाली सक्नु पर्ने व्यवस्था गर्ने । बालुवालाई बोरामै ल्याउने ब्यबस्था गर्ने किनकी बालुकाले सडक बिगार्छ भने ढुंगा झार्दा हाईड्रोलिक बाट नझारी मान्छेले नै झार्ने जसले सडक बिग्रनबाट जोगाउछ ।
४ ठुला मालबाहक गाडि र ट्याक्टरलाइ निश्चित समयमा प्रबेश निशेधः
ठुला मालबाहक गाडी र ट्याक्टरलाई बैकल्पिक बाटो अहिलेको कालीगण्डकि को तटबन्धको बाटो प्रयोग गर्ने र बजार प्रबेश गर्नै पर्ने अवस्थामा बेलुकी ८ देखि बिहान ६ बजे सम्म मात्र प्रबेश दिने । यो गर्दा शुरुमा त अलि अप्ठ्यारो होला तर पछि सिष्टम बस्दै जांदा सहज हुन्छ । ठुला सवारीलाई बजारमा निश्चित समयमा मात्रै प्रवेश गराउँदा साना सवारीहरुको व्यवस्थापनमा ठुलो राहत मिल्छ ।
५ ट्राफिक बजार क्षेत्रमा परिचालन :
बजार क्षेत्रभित्र ट्राफिक व्यवस्थापनको लागि जनचेतनाको आबश्यक छ । यसको ट्राफिक प्रहरीलाई बजार क्षेत्रमा परिचालन गर्नुपर्छ । बजार क्षेत्रमा सक्रियता बढाउन सकियो भने यी समस्या समाधान हुने र दुर्घटना न्युनीकरण गर्न सकिन्छ । ट्राफिकसंग जनशक्ति अभाव भएमा प्रहरी र अरु स्वयंसेवी संस्थाहरु संग पनि सहकार्य गर्न सकिन्छ । ट्राफिक नियमको बर्खिलाप गर्नेहरुलाई कुनै दवाव र प्रभावमा नपरीकन कानुन बमोजिम निर्मम कारबाही गर्ने र हामी समाजले पनि कुनै कारबाही नगर्न दवाव नदिने हो भने यी समस्या देखिने गरी घट्न सक्ने देखिन्छ । यो सबैको संगसंगै ट्राफिक जनचेतनालाई पनि संगसंगै अगाडि बढाउनु पर्छ किनकि कतिपय व्यक्तिहरुलाई चेतनाको अभावमा गल्ती गरीरहेका हुन सक्छन त्यसका लागि बिभिन्न संघ संस्था कलेज बिद्यालहरुसंग सहकार्य गरि अभियान चलाउन सकिन्छ ।

अन्तमा : शहरी क्षेत्रमा बसोबास गर्नेहरुको संख्या बढ्दो क्रममा रहेकाले सवारी साधन प्रयोगकर्ताको संख्या बढ्ने निश्चित छ र दिनदिनै बढिरहेको छ । हामीले हाम्रो सडकलाई त बढाउन सक्दैनौं तर यसलाई व्यवस्थित भने गर्न सक्छौं । र यसो गर्नुको विकल्प पनि छैन । हिजो आज जसरी दुर्घटना हुने क्रम बढी रहेको छ यसलाई समयमा नै समाधानको लागि पहल नगर्ने हो भने कुनै दिन अव्यवस्थित सडक र सवारीको कारण हामीले समेत धेरथोर पिडा सहन नपर्ला भन्न सकिँदैन् । त्यसैले यहाँको स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, विभिन्न सामाजिक संघ संस्था र समुदाय नै यस क्षेत्रबारे समयमै सचेत र सजग बन्नु नै बुद्धिमता हो ।
इन्जिनियर : कमल विश्वकर्मा
म्याग्दी जेसीज शाखा अध्यक्ष
बर्ष २०१८