गण्डकी प्रदेश स्तरीय फोटोग्राफी अवार्ड वितरण गर्ने तयारी

  • १४ श्रावण २०७५, सोमबार
  • 3225 पटक पढिएको

म्याग्दी, १४ साउन । आगामी भदौ ३ गते पोखरामा गण्डकी प्रदेश स्तरीय फोटोग्राफी अवार्ड वितरण गरिने भएको छ । पोखरा फोटोग्राफर संघले फोटोग्राफी व्यवसायी तथा फोटोग्राफरहरुलाई प्रोत्साहन तथा दक्षता अभिबृद्धि र सिपलाई उजागर गर्नको लागि गण्डकी प्रदेश स्तरीय विभिन्न विद्यामा अवार्ड घोषणा गरेको हो ।
अवार्डबारे जानकारी दिन म्याग्दी आएको संघको टोलीले आईतवार फोटोको महत्वलाई थप उजागर गर्दै फोटोग्राफरलाई प्रोत्साहन गर्न अवार्ड घोषणा गरिएको जनाएको छ । बेनीमा फोटोग्राफर पत्रकारहरुसंगको अन्र्तक्रिया कार्यक्रममा संघका अध्यक्ष तुलसीराम सुवेदीले संघको ३७ औँ स्थापना दिवसको अबसरमा ६ वटा फोटोग्राफी अवार्डको स्थापना गरिएको जानकारी दिनुभयो ।

साउन २ गते घोषणा गरिएको अवार्डहरु आगामी भदौ ३ गते विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरामा वितरण गरिने उहाँले बताउनुभयो । संघले गण्डकी प्रदेशमा फोटोग्राफी पेसामा विशेष योगदान पु¥याएका र कम्तीमा १५ बर्ष फोटोग्राफी गरेका व्यक्तिलाई सम्मान गर्न २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशिको लाइफटाइम एचिभमेन्ट फोटोग्राफी अवार्ड स्थापना गरेको छ । त्यसैगरि संघमा आबद्ध फोटोग्राफरहरुलाई प्रोत्साहनको लागि रु १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशीको फोटोग्राफर अफ दी इयर र ५ हजार १ रुपैयाँ पुरस्कार राशीको मिलन यूथ ईनर्जेटीक फोटोग्राफी अवार्ड घोषणा गरिएको छ ।

फोटोग्राफर संघ पोखराले दैनिक जनजीवन, संस्कृति तथा पर्यटन र वातावरण तथा प्रकृति गरी ३ वटा विधामा प्रतियोगितात्मक फोटोग्राफी अवार्ड स्थापना गरेको छ । गण्डकी प्रदेश अन्र्तगत रहेर फोटोग्राफी गरेका हरेक व्यक्तिले भाग लिन पाउने यस विद्यामा ५ हजार १ रुपैयाँको दरले पुरस्कार प्रदान गरिने संघका कोषाध्यक्ष रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । संघले प्रतियोगितामा सहभागीता जनाउन चाहने इच्छुकलाई साउन २५ गतेभित्रै फोटो उपलब्ध गराउन आह्वान गरेको छ । संघले विभिन्न विद्यामा अवार्डको पुरस्कार दिनको लागि अक्षयकोष समेत स्थापना गरेको छ ।