कालिगण्डकी कोरीडोर प्रशारण : दाना–खुर्कोट प्रशारण लाईनको काम तिब्र

  • १४ श्रावण २०७५, सोमबार
  • कमल खत्री
  • 3397 पटक पढिएको

म्याग्दी, १४ साउन । म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय प्रशारण लााईनमा जोड्नको लागि निर्माण सुरु गरिएको कालीगण्डकी कोरीडोर प्रशारण लाईनको निर्माण कार्यले तिब्रता पाएको छ । कोरीडोर अन्र्तगत म्याग्दीको दानादेखी पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारण लाईन र सब स्टेशन निर्माण कार्यले गति लिएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत सबस्टेशन निर्माण भैरहेको यस आयोजनाको प्रशारण लाइनको लागि टावर निर्माणको कामले समेत गति लिएको छ । दाना–खुर्कोटसम्म ११४ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म ३५ वटाको टावर निर्माण सम्पन्न भएको र करिब १ दर्जन बढी स्थानमा टावर निर्माण कार्य भैरहेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । यस खण्डको डिजाईनको सबै काम सकिएको छ ।

‘‘ टावर निर्माण कार्य तिब्र रुपमा अगाडी बढेको छ, धेरैजसो फाउण्डेशनको कामलाई जोड दिएका छौँ, समयमै आयोजनाको काम सक्न प्रयासरत छौँ’– प्रमुख कोषले भन्नुभयो । उहाँका अनुसार सब स्टेशनको समेत पूर्वाधार निर्माणलाई तिब्र पारिएको छ । नेपाल विद्युत प्राधिकरणले एशियाली विकास बैङ्कको सहयोगमा कालीगण्डकी कोरीडोर प्रशारण लाईन आयोजना अन्तरगत सन २०१६ देखि म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने प्रशारण लाईन र सब स्टेशन निर्माण सुरु गरेको थियो ।

दुई अर्ब ९० करोड रुपैयामा ठेक्का सम्झौता गरेका टाटा प्रोजेक्ट्स र चिन्ट ईलेक्ट्रीक जेभीले सबस्टेशनको पूर्वाधार, प्रशारण लाइनको टावर निर्माण संगै ईलेक्ट्रोनीक उपकरण खरिदको कामलाई अघि बढाएका छन् । सन २०१८ को नोबेम्बरमा सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्यलाई तिब्रता दिइएको आयोजनाका प्राबिधिक सहायक प्रबन्धक लक्ष्मण फुयालले जानकारी दिनुभयो । यस आयोजनाको अहिलेसम्म ६२ प्रतिशत बढी निर्माण कार्य सम्पन्न भएको छ ।

कालिगण्डकी कोरीडोर प्रशारण लाइन अन्र्तगत विद्युत प्राधिकरणले पहिलो चरणमा दाना–खुर्कोटमा सब स्टेशन र प्रशारण लाइन निर्माणको काम अघि बढाएको छ भने खुर्कोटदेखि नवलपरासीको बर्दाघाट सम्म दोस्रो चरणमा प्रशारण लाईनको पूर्वाधार बनाउने तयारी भैरहेको आयोजनाका प्रमुख घोषले जानकारी दिनभुयो ।

यहाँ उत्पादन हुने विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि पूर्वाधार निर्माणले गति लिएसंगै म्याग्दीमा निर्माणधिन जलविद्यूत आयोजनाहरुले समेत पूर्वाधार निर्माणलाई तिब्रता दिएका छन् । यस आयोजनाले प्रशारण लाईनको टावर रहने जग्गा अधिग्रहणका लागि साढे चार करोड रुपैया भन्दा बढी मुआब्जा वितरण गरिसकेको छ । टावरका लागि ९३ रोपनी जग्गा अधिग्रहण गरीने भएको छ । प्रकृया पुरा गरि आएका सबै लाभग्राहीलाई मुआब्जा वितरण भैरहेको आयोजनाले जनाएको छ । कालिगण्डकी कोरीडोर राष्ट्रिय प्रशारण लाईन मार्फत म्याग्दी र मुस्ताङमा निर्माण भएका र निर्माणधिन जलविद्यूत अयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रशारणमा जोडिनेछ ।

यो प्रशारण लाईन अन्तरगत १३ मेगावाट क्षमत्ताको थापाखोला जलविद्युत आयोजनाले उत्पादन सुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरी र निलगिरी क्यास्केट निर्माणाधिन अवस्थामा छन् ।

त्यस्तै रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण कार्य सुरु गरेको छ भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरी, ३८ मेगावाटको निलगिरी क्यास्केट लगायतका आयोजनाले काम सुरु गर्ने तयारी गरेका छन् । यहाँका खोलानालाबाट विद्युत उत्पादनको लाइसेन्स लिएर बसेकाहरु प्रशारण लाइन निर्माणले गति लिएसंगै पूर्वाधार निर्माणमा जुट्न थालेका हुन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l