पुर्नमिलनले फर्कियो खुसीः भकिम्लीका विक्रम पुन हराएको १६ बर्षपछि भेटीए !

  • ९ श्रावण २०७५, बुधबार
  • 4376 पटक पढिएको

म्याग्दी, ९ साउन । बच्चा छँदा हराएको छोरा १६ बर्षपछि भेटीएपछि यहाँको एक परिवारमा पुनर्मिलन भएको छ । १६ बर्ष अघि काठमाण्डौबाट ६ बर्षको उमेरमा हराएका बेनी नगरपालिका–३ घर भएका विक्रम पुन बुधवार मात्रै परिवारको सम्पर्कमा आएका हुन् । अपहरण गरि उनलाई भारत पु¥याईएपनि घरपरिवारले खोजतलास गर्दा केही पत्तो नलागेपछि विक्रम आउने बाटोको आस मारिसकेका थिए ।

तर हराएको छोरासंग १६ बर्षपछि पुर्नमिलन भएपछि आफ्नो परिवारमा खुसीको सिमा नभएको विक्रमका बुबा डिल्लीराम पुनले बताउनुभयो । ‘हामीले आस नै मारेका थियौँ, धेरै बर्षसम्म खोज्यौ तर केही पत्ता लागेको थिएन्, भारतहुँदैे छोराको उद्धार गरि भैरवामा रहेको बालबालिका सहयोग केन्द्रमा ल्याईएको जानकारी पाएपछि हामी त्यहाँ पुग्यौँ, छोरो सानो छँदाको तस्बिर र उनको शारीरिक हुलिया मिलेपछि हामीले छोराको पहिचान गरि घर ल्याएका छौँ’’–उहाँले भन्नुभयो ।

साउदीमा दुर्घटनामा परि घर फर्किपछि घरपरिवारको जिविका र छोराछोरीको शिक्षाको लागि काठमाण्डौमा होटल सुरु गरेको छोटो समयमा नै अपरिचित व्यक्तिको फन्दामा परेर छोरा बेपत्ता भएपछि बर्षौ समय निरासमा बिताएका पुन परिवारमा विक्रमको पुर्नमिलनसंगै खुसी फर्किएको छ । भारतमा रहेको एकता समाजसंगै विभिन्न नेपाली संघ संस्था र त्यहाँ क्रियाशिल बालअधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुको पहल र नेपाल प्रहरीको सहयोगमा गत साउन ५ गते पुनलाई नेपाल ल्याइएको थियो ।

उनलाई भैरवामा राखिएको बालगृहमा कार्यरत भकिम्लीकै पवित्रा रसाईलीले घरपरिवारलाई सम्पर्क गरेपछि विक्रमको परिवारसंग पुर्नमिलन भएको हो ।
आप्नो छोराको पहिचानको लागि पुगेका पुन परिवारलाई प्रहरी, बालगृहका सञ्चालकले बच्चा हराएको अभिलेख, निवेदन तथा हुलियाको आधार पुष्टी भएप्छि परिवारको जिम्मा लगाएका थिए । यता १६ बर्षपछि आफ्नो बास्तविक बुबा आमा संग भेट हुन पाएका विक्रमले आफुलाई एक महिलाले आमा भन्न लगाएर भारतमा राख्ने गरेको र पछि उद्धार गरि आफुलाई बालगृहमा राखिएको प्रतिकृया दिएका छन् ।