प्रतिबिम्ब

  • ६ श्रावण २०७५, आईतवार
  • 3495 पटक पढिएको

शायदै भेटिन्छन ती कहानिहरु
जहाँ उहीँ बिम्बमा बिपरित
प्रतिबिम्ब देखाउछन ती
प्रदर्शनीका ऐनाहरु,
म भित्रको तिमी र
तिमी भित्रको म
यहि कहानी को पात्र बन्न पुग्यौं

तिमि जसको,
दिब्य ज्योतिले पुर्णिमा झल्काउथ्यो
शब्दबाट छन्द निस्कन्थे
सौन्दर्यता प्रकृतिले ग्रहण गर्दथ्यो
अनि जस्लाई म
नितान्त आफ्नो सोच्न सक्दथे
उनिसङ्गै चादनिका रात मा
निसङ्कोच यात्रा को क्रममा
आफन्तको अङ्कुश बाट
अलग्गिन पुगेका हामी
आकाश र धर्ती झै हुन पुगेउ

आज उनि यति माथी पुगिन कि
उनिलाई भेट्न बाध्यता का
सिढी चढ्दा चढ्दै यात्रा रोकिन पुग्यो
र आज म मात्र कल्पना गर्न सक्छु

जुन धर्तिमा म पाईला टेके
त्यो तिम्रो साहस थियो
चालिएका प्रत्येक कदम
तिम्रै प्रेरणाको प्रतीक थियो
हरेक अक्षर नियाल्ने आकाश
त्यो त तिम्रै उदार हृदय थियो
अनि यो निश्छल माया
तिम्रै आत्मियता, महशुस र भावना थियो

तिम्रो भावना लाई यो दुनियाँ
सागर को गहिराई बनाइदियो
म आज अनुमान गर्न सक्छु
तिम्रो गहिराई ,किनकि
म त्यही स्थान मा छु
जहाँ छालहरुले तिम्रो आत्माको स्पर्श
निरन्तर दिलाईरहेका छन
मेरो आधा श्वासप्रश्वास लाई
पुर्णता दिएका छन

म यो छाती भित्रको एक
मुटुलाई दुई बनाउने प्रयास गर्छु
सम्भवत , म सोच्दछु
तिम्रा याद र स्पर्श हरु एककट्ठा भै
तिमी हुनेछौ र बस्नेछौ सदा सङ्गै

पिध मा टल्किएका ती रोस्नी संगै
मेरा चाहनाका तरंग फैलन थाल्छन
तिम्रो खोजिमा पाईला सार्दै
कि लाग्छ अब तिम्रो आगमन
वसन्त को बहार सरि हुनेछ
र यहि उत्साह मा छचल्किन्छन
नसा नसा का रगत

अपशोच ,कैयौं दिन अनि रातहरु बिते
सन्सारले रङ्ग फेर्यो, तर
तिमिलाई लिन गएका मेरा तमाम
अवशेष निहत्था फर्कने साझ फेरिएन

म रिसाउछु, झर्किन्छु, गाली गर्छु
ती अवशेष सङ्ग
किनकी यिनिहरुले कहिल्यै बुझेनन
तिमी प्रतिको मेरो चाहना

सायद बुझ्दा हुन त
आखा बिनाको दृश्य
शब्द बिनाको अभिव्यक्ति
रंग बिनाको सौन्दर्यता
महसुस बिनाको भावना
आत्मा बिनाको शरीर जस्तै,
तिमी बिनाको म लाई
म होइन हामी बनाईदिन्थे

अन्ततः म यी अबशेष त्याग्छु
र तिम्रो स्पर्शले भरिएको दोश्रो मुटुमा पुग्छु
किनकी ,
म तिम्रो आवरणले भरिएको म होइन
स्वतन्त्र तिमी बन्न चाहान्छु
जहाँ प्रत्येक प्रहर मेरो बिम्बको
प्रतिबिम्ब तिमी बन्ने गर्दछेउ।।।

कुशल  रिजाल 

रघुगंगा गाउँपालिका २ भगवती , साउन ६ ।