उद्यमशीलता बढाउन भुरुङ तातोपानीमा घुम्ती कोष

  • ३ श्रावण २०७५, बिहीबार
  • सन्ताेष गाैतम
  • 2622 पटक पढिएको

म्याग्दी, ३ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा गरीब, विपन्नलाई उद्यमशीलताप्रति आकर्षित गरी आयआर्जन सुधारका लागि घुम्ती कोष स्थापना गरिएको छ । वडा समितिको प्रस्तावमा गाउँपालिकाले रु तीन लाखको घुम्ती कोष स्थापना गरेको हो । छ वटा टोल सुधार समितिमार्फत घुम्ती कोष परिचालन गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो ।

आर्थिकरूपमा पिछडिएको समुदायलाई उद्यम व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने उद्देश्यले प्रत्येक सामुदायिक संस्थामार्फत रु ५० हजारका दरले परिचालन गरिएको छ । घुम्ती कोषको रकमबाट २० जनाले बाख्रापालन, कुखुरापालन, तरकारीखेती, फलफूल खेती, सिलाइकटाइ, आरनलगायतका व्यवसाय शुरु गरेका छन् । घुम्ती कोषको रकम बाहेक सर्वसाधारणले व्यवसायमा स्वलगानीसमेत गरेका छन् । पूर्वाधार निर्माणसँगै सामाजिक सशक्तीकरण र आयआर्जन सुधारका कार्यक्रममा जोड दिइएको वडाध्यक्ष फगामीले बताउनुभयो ।

सन्ताेष गाैतम