गाउँपालिकाको केन्द्र जोड्ने माैवाफाँट – भगवती सडकको ट्याक निर्माण

  • ३ श्रावण २०७५, बिहीबार
  • 2866 पटक पढिएको

उर्मिला रेग्मी

म्याग्दी, ३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि भगवती जोड्ने सडकको ट्याक निर्माण भएको छ । वडा नम्बर ३ को मालिका, दुलेपानी, २ नम्बर वडाको भगवती र वडा नम्बर १ बेगखोला क्षेत्रलाई लक्षित गरि मौवाफाँटदेखि करिब ३ किलोमिटर सडकको ट्याक निर्माण गरिएको हो । गाउँपालिकाको केन्द्रसंग वडा नम्बर २ र ३ लाई प्रत्येक्ष रुपमा जोड्ने सडकको ट्याक निर्माण भएपछि सिधा आवत जावत गर्न सहज हुने गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो । उहाँले अहिले विस्तार भएको ६ देखि ८ मिटर फराकीलो रहेको सो सडकको ट्याकलाई स्तरोन्नती गरि नियमित रुपमा सवारी साधन सञ्चालन हुने बताउने तयारी गरिएको जानकारी दिनुभयो ।

मौवाफाँट हुँदै अल्छेढुंगा–भेडीखाल्टा–बादुरे चौतारा हुँदै भगवतीतर्फबाट मालिका सम्म आएको सडकमा ट्याकमा सडक जोडिएकाले यस क्षेत्रका नागरिकलाई घुमाउरोबाटो मार्फत गाउँपालिकाको केन्द्रमा पुग्नुपर्ने झण्झट हट्ने अपेक्षा गरिएको रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिम बहादुर कटुवालले बताउनुभयो ।
मौवाफाँदेखी अल्छेढुंगा सम्म पुगेको सडकलाई मालिका र बादुरे चौतारादेखि दुलुपानी जोड्न सडकको ट्याक निर्माणमा साढे १४ लाख रुपैयाँ बजेट खर्च भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष भेषनाथ रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार, सडक निर्माणमा गाउँपालिका कार्यालयले रु ११ लाख बजेट विनियोजन गरेकोमा उपभोक्ता समितिलाई थप रु साढे ३ लाख ऋण भार परेको छ ।


रघुगंगा गाउँपालिकाले हरेक वडालाई सहज सडक सञ्जालले जोड्ने योजनालाई प्राथमिकता दिएको छ । यस गाउँपालिकामा आर्थिक बर्ष २०७४÷७५ मा ११ दशमलब ७२ किलोमिटर नयाँ ट्याक र ४० दशमलब ३५ किलोमिटर सडक मर्मत गरिएको छ । त्यसैगरि ८ सय १ घनमिटर ग्याविन र १०४ घनमिटर बढीमा मेसिनरी पर्खाल निर्माण गरिएको गाउँपालिकाका सब–इन्जीनियर कमल चोखालले जानकारी दिनुभयो ।