युवा समितिको वार्षिक प्रगति सार्वजनिक

  • ३२ असार २०७५, सोमबार
  • 1912 पटक पढिएको


म्याग्दी, ३२ असार । जिल्ला युवा समितिको कार्यालय म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा वार्षिक प्रगति समीक्षा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालित वार्षिक कार्यक्रमहरुको बारेमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख दलबहादुर थापाले चालु आर्थिक वर्षमा सञ्चालन गरिएका विभिन्न ११ ओटा मुख्यमुख्य क्रियाकलापहरुको विषयमा जानकारी गराएका थिए । कार्यालयले कुल २१ लाख ६ हजार रुपैयाँको बजेटमा विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यालयमार्फत युवा सिप विकास तालिम, क्षमता अभिवृद्धि कार्यक्रम, अपाङ्गता भएकालाई कृत्रिम अङ्ग जडानका लागि सिफारिस गरिएको थियो ।
यसैगरी चालु वर्षमा कार्यालयले युवा सिप विकास तालिम अन्तर्गत तीनमहिने सिलाइकटाई तालिम, युवाहरुको प्रतिभा पहिचान तथा उद्यमीको खोजी र सम्मान, उद्यमशिलता र रोजगारी विषयक परामर्श, बक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको कार्यालय प्रमुख थापाले बताए । त्यस्तै राष्ट्रिय युवा परिषदको युवालक्षित कार्यक्रमबाट ‘एक वडा १० युवा एक उद्यम’ कार्यक्रम सञ्चालन गर्नका लागि चालु आर्थिक वर्षमा बेनी नगरपालिका–५, पुत्लेढुङ्गाको सार्थक पशुपालन तथा कृषि फाम छनोट भएको छ ।
गतवर्ष सोही कार्यक्रम अनुसार अन्नपूर्ण–५, पाउद्धारको खयरभारानी युवा क्लबको सिस्नो पाउडर उद्यमीलाई पाँचलाख रुपैयाँ विना व्याजमा ऋण उपलब्ध गराइएको थियो । सामान्य बजेटको कार्यक्रम गर्न युवाहरुमा चाहना कम देखिएको तथा युवाको क्षेत्रमा काम गर्न समस्या रहेको कार्यालयको भनाइ छ । हरेक वडामा १० युवा एक उद्यम कार्यक्रम रहेपनि युवालक्षित कार्यक्रमका लागि बजेट कम आउने गरेको जनाइएको छ ।
जिल्लामा कार्यालय स्थापना भई सञ्चालनमा आए पनि पहिलो वर्ष युवाहरुका लागि कार्यालय छ भनेर चिनाउन समय लागेको जिल्ला युवा समितिका अध्यक्ष देवीप्रसाद शर्मा (डिपी)ले बताए । राष्ट्रिय युवा परिषद अन्तर्गत रहेको जिल्ला युवा समितिले युवाहरुको पक्षमा काम गर्दै आइरहेको उनले बताएका छन् ।
कार्यालयले युवाहरुलाई स्वरोजगारका क्षेत्रमा लाग्न प्रेरित गर्दै आइरहेको छ । कार्यक्रम अध्यक्ष शर्माको अध्यक्षता र कार्यालयका कम्प्युटर अपरेटर अमृत बास्कुनेको सञ्चालनमा सम्पन्न भएको थियो ।