विद्युत प्राधिकरणका कर्मचारी कार्यालय बन्द गरेर भोजमा

  • ३२ असार २०७५, सोमबार
  • 4146 पटक पढिएको

सन्दिप शर्मा/  बेनी ३२ असार । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका कर्मचारीहरुले सोमबार कार्यलय बन्द गरेर भोज खान गएका छन् ।आर्थिक बर्ष को अन्तिम दिन हिसाब मिलानका लागि कार्यलय बन्द गरेको सुचना टासेका कर्मचारीहरु दिनभरी जलजला गाउँपालिका ४ मिलनचोक स्थित सब स्टेशन परिसरमा भोज भतेरमा रमाएका हुन् ।

कार्यालयमा कार्यरत प्रशासन, लेखा, प्राबिधिक लगायत सबै फाँटका कर्मचारीहरुले एक जना सवारी चालकलाई कार्यालय कुराएर सेवाग्राहीको कामलाई बेवास्ता गर्दै बिदा नभएको दिनमा पनी भोज खान गएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । बिना जानकारी कार्यालय बन्द गरीदा महशुल बुझाउन, मिटर बक्स माग्न, विभिन्न योजनाको भुक्तानी लिनुपर्ने कामका लागि आएका सेवाग्राहीहरु रित्तै फर्कन बाध्य भएका रघुगंगा गाउँपालिका ३ का रमेश रानाले गुनासो गरे ।

कर्मचारीहरु भोजमा रमाईरहदाँ विद्युत आपुर्ती अनियमित भएर आजित भएका सेवाग्राहीले कार्यालयमा फोन गर्दा फोन समेत उठेको थिएन् । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बिदा बाहेकको दिनमा कार्यालय बन्द गर्न नमिल्ने बताए । विद्युत प्राधिकरणले कार्यालय बन्द गर्ने विषयमा आफूलाई जानकारी नगराएको प्रजिअ अधिकारीले बताए ।
नियम विपरीत बिना सूचना कार्यालय बन्द गरेर भोजमा गएको विषयमा छानविन गरिने प्रजिअले बताए । केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले आर्थिक वर्षको अन्तीम दिन हिसाव मिलान गर्नका लागि काउन्टर बन्द गरिएको बताउदै अन्य काम नरोकीएको दावी गरे ।