दग्नामको तोयमा पहिरो जाँदा सडक भासियो

  • ३२ असार २०७५, सोमबार
  • 2950 पटक पढिएको

म्याग्दी, ३२ असार । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ ।गाउँपालिकाको केन्द्र मौवाफाँट देखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षातपछि सोमबार दिउँसो जमिन धाजा फाटेर पहिरो जाँदा करिब २५ मिटर सडक भासिएको हो ।

सडक तलको भिरालो जमिन धाँजा फाटेर पहिरो गएपछि सडकमा सवारी साधन चल्न नसक्ने भएको दग्नामका वडा अध्यक्ष एकबहादुर गर्बुजाले बताए । पहिरो जाने क्रम नरोकीएकाले सडक भासीने क्रम जारी छ । मानिसहरु समेत आवत जावत गर्न जोखिम बढेकाले बाटो बन्द गरिएको वडा अध्यक्ष गर्बुजाले बताए ।

बैकल्पीक घोरेटो बाटो निर्माणका लागि वडाका जनप्रतिनिधिहरुले मंगलमा श्रमदानको आव्हान गरेका छन् । सडक भासीदा दग्नाम, दर्मीजा, चिमखोला, कुईने मंगलेका बासिन्दालाई आवत जावतमा समस्या भएको छ । सो स्थानमा विगत तिन चार वर्ष अघिदेखि जमिन धाँजा फाटेर पहिरो जाने समस्या थियो ।

सडक खनेपछि पहिरो जाने र जमिन भासिने क्रम बढेको स्थानीयबासीले बताएका छन् । पहिरो प्रभावीत क्षेत्रको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारी, प्रजिअ लिलाधर अधिकारी, उपाध्यक्ष कमला तिलीजा लगायत जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको टोलीले स्थलगत निरिक्षण गरेको छ ।
निरन्तर पहिरो बगिरहेकाले उच्च जोखिम भएको ठहर गर्दै पैदलबाट समेत आवत जावत बन्द गरेर बैकल्पीक बाटोको व्यवस्था मिलाउने तयारी भएको पहिरो प्रभावीत स्थलमा पुगेर फर्कनुभएका रघुगंगा गाउँपालिका २ का वडा अध्यक्ष रिम कटुवालले जानकारी दिए ।