शिक्षा विकास समन्वय ईकाईबाट विद्यालयलाई एक करोड बढी अनुदान वितरण

  • ३२ असार २०७५, सोमबार
  • सन्तोष गौतम
  • 2621 पटक पढिएको

 


म्याग्दी ३२ असार । शून्य दरबन्दिमा सञ्चालीत म्याग्दीका ४२ वटा सामुदायीक विद्यालयले एक करोड रुपैया भन्दा बढी अनुदान पाएका छन् ।समुदाय स्तरबाट चन्दा सहयोग जुटाएर निजी स्रोतका शिक्षकको तलबभत्ताको ब्यवस्था गर्दै आएका १९ वटा माध्यमिक, १–५ तहका १० र १–८ तहका १३ वटा सामुदायीक विद्यालयलाई एक करोड नौ लाख ९७ हजार रुपैया अनुदान उपलब्ध गराएको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।

आर्थिक वर्ष २०७५÷७६ का लागि कम्तीमा एक जना शिक्षकलाई एक वर्षको तलब उपलब्ध गराउन सक्ने गरी १९ वटा माविलाई ७६ लाख र २३ वटा आधारभुत विद्यालयलाई शिक्षण सिकाई अनुदान शिर्षकमा शिक्षकको तलबभत्ताका लागि अनुदान उपलब्ध गराएको ईकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिए । सञ्चालन अनुमती भएपनी दरबन्दि तथा राहत अनुदान नपाएका सामुदायीक विद्यालयहरुलाई लक्षित गरी संघीय सरकारले उक्त बजेटको व्यवस्था गरेको हो ।

एउटा विद्यालयले विद्यार्थी संख्या र सिकाई उपलब्धिको आधारमा एक लाख २९ हजार रुपैया देखि चार लाख १५ हजार रुपैया सम्म अनुदान पाएका छन् । निजी स्रोतका शिक्षकको तलबभत्ताको व्यवस्था गर्न नसकेर बन्द हुने अवस्थामा पुगेको सामुदायीक विद्यालयलाई ठूलो राहत पुगेको धवलागिरी गाउँपालिका २ को लमसुङ माविका प्रअ तुलसी सुवेदीले बताए ।

शून्य दरबन्दिमा सञ्चालीत सामुदायीक विद्यालयको अनुदानका लागि आगामी आर्थिक वर्षमा धवलागिरी गाउँपालिकाले १८ लाख ५० हजार र मंगला गाउँपालिकाले २५ लाख रुपैया बजेट बिनियोजन गरेका छन् । यसैगरी कार्यालयले १६ लाख रुपैयाका दरले उपलब्ध गराएको अनुदानबाट ११ वटा विद्यालयमा दुई कोठे कक्षा कोठा भवन निर्माण भएका छन् ।
३६ लाख रुपैयाका दरले उपलब्ध गराएको अनुदानबाट आठ वटा विद्यालयमा चार कोठ भवन निर्माण भएको ईकाईका प्रमुख थापाले जानकारी दिए । ९ वटा विद्यालयमा शौचालय निर्माणका लागि छ लाख र १२५ वटा कक्षा कोठा मर्मतका लागि पचास हजार रुपैयाका दरले अनुदान वितरण भएको छ । विद्यालय भवन, शौचालय निर्माण, मर्मत तथा अन्य पूर्वाधारका लागि दश करोड २३ लाख रुपैया बजेट बिनियोजन भएकोमा नौ करोड ६९ लाख ६४ हजार रुपैया खर्च भएको छ ।

१५ वटा विद्यालयमा ईन्टरनेटको माध्यमबाट अध्यापन गराउनका लागि सूचना प्रबिधिका सामाग्री र २० वटा विद्यालयमा पुस्तकालय स्थापना गर्न छ लाख पचास हजार रुपैयाका दरले सहयोग गरिएको छ । उच्च सिकाई उपलब्धि भएको बेनपा ६ को जामुनाखर्क माविलाई दुई लाख प्रोत्साहन पाएको छ ।

न्युन सिकाई उपलब्धि भएको चन्द्रज्योती मावि खिवाङ, जनजागृती मावि मल्कवाङ र राष्ट्रिय मावि रुमलाई एक लाख रुपैयाका दरले शिक्षण सिकाईमा सुधार ल्याउन सहयोग गरिएको छ । अनौपचारीक शिक्षा तथा निरन्तर शिकाई कार्यक्रम अन्तरगत ५७ वटा साक्षरता कक्षा सञ्चालन गरेको कार्यालयले म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्नु आर्थिक वर्ष २०७४÷७५ को मुख्य शैक्षिक उपलब्धि मानेको छ ।

सन्तोष गौतम