बाबियाचौर–झाँक्रेपानी पदमार्ग निर्माण सुरु

  • ३२ असार २०७५, सोमबार
  • सन्तोष गौतम
  • 3534 पटक पढिएको

म्याग्दी, ३२ असार । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर देखि पर्यटकीय स्थल झाक्रेपानी जोड्ने पदमार्ग निर्माण सुरु भएको छ ।

प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनी पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको झाँक्रेपानीलाई पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले पदमार्ग निर्माणको काम सुरु गरेको हो ।

यस वर्ष गाउँपालिकाको चार लाख रुपैया अनुदान र स्थानीयबासीको एक लाख चालीस हजार ८०४ रुपैया बराबरको श्रमदानमा अर्मनको पुलचोक देखि गहतेतर्फ जाने उकालो बाटोमा करिब डेढ सय मिटर पक्कि सिढी सहितको पदमार्ग निर्माण भएको उपभोक्ता समितिका सचिव बलप्रसाद रोकाले बताउनुभयो ।

उहाँका अनुसार २३ घनमिटर क्षेत्रफल रहेको पदमार्गमा २०० वटा सिढी छन् । आगामी वर्ष गहते, नेटा हुदै झाँक्रेपानीसम्म थप पदमार्ग विस्तार गर्ने योजना रहेको सचिव रोकाले बताउनुभयो ।

समुन्द्रि सतहदेखि दुई हजार पाँच सय मिटरको उचाईमा अवस्थित मंगला गाउँपालिकाको ३ नम्बर वडामा पर्ने झाँक्रेपानीबाट अन्नपूर्ण, धौलागिरी, निलगिरी, गुर्जा लगायतका हिमाल, पहाडी भुगोल, वनजंगल र सुर्योदयको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

झाँक्रेपानीमा यस वर्ष गाउँपालिकाको दुई लाख रुपैया सहयोगमा करिब एक सय मिटर पदमार्ग निर्माण गरि भ्यु टावर बनाउन जग खनिएको उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रोकाले बताउनुभयो ।

सन्तोष गौतम