क्रोएसिया भर्सेस फ्रान्समा इतिहास बन्ला वा दोहारिएला ?

  • ३१ असार २०७५, आईतवार
  • 2401 पटक पढिएको

रुसको राजधानी शहर मस्कोस्थित लुज्निकी रंगशालामा आइतबार विश्वकप फुटबलको फाइनल खेल हुनेछ । विश्वकप फुटबल प्रतियोगिता शुरु भएको ठीक एक महिना र एक दिनपछि आज भव्य अन्त्य हुँदैछ । फ्रान्स वा क्रोएसिया मध्ये एकले विश्व विजेताको ताज पहरिनेछ । विश्व फुटबलमा अहिलेसम्म ठूलो उपाधि जित्न नसकेको क्रोएसियाले फाइनल जित्दै इतिहास रच्ला वा फ्रान्सले उपाधी जित्दै सन् १९९८ को सफलतालाई दोहो¥याउँला ? प्रतिक्षाको विषय बनेको छ ।

नेपाली समयअनुसार ८ बजेर ४५ मिनेट जाँदा खेल सुरु हुनेछ । अर्जेन्टिनी रेफ्री निस्टोर फबियाना पिटानाले यो खेल खेलाउनेछन् । जारी विश्वकपमा उनले खेलाउन लागेको यो पाँचौ खेल हुनेछ । एसिस्टेन्ट रेफ्री एच मेडाना र जे बिलाटीले उनलाई साथ दिनेछन् ।

युरोपियन टोलीको वर्चश्व

सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड तथा बेल्जियम र फ्रान्सको भिडन्त तय भएसँगै यसपटकको विश्वकप फाइनल अल–युरोपियन फाइनल हुने तय भएको थियो । क्वाटरफाइनलमा नै धेरैले यस्तै हुने अनुमान गरेका थिए । किनभने दुई दक्षिण अमेरिकी टोली उरुग्वे र ब्राजिलले अन्य ६ युरोपियन टोलीसँग भिड्दै थिए । आज जो विजयी भए पनि फेरि एक पटक युरोपियन टोली विश्व विजेता बन्नेछ ।

पछिल्ला आठ विश्वकप, सन् २०१८ को सहित, सन् १९९४ र २००२ मा ब्राजिलबाहेक युरोपियन टोली विश्व च्याम्प्यिन बनेको छ । ब्राजिललाई हटाउने हो भने युरोपियन टोलीबाहेकको विजेता भेटाउन सन् १९८६ मा पुग्नुपर्छ जहाँ अर्जेन्टिना विजयी भएको थियो । तर, युरोपसँग तथ्याङ्कगत हिसाबले पनि फाइदा रहेको छ, विश्वकपमा युरोपमा १४ टोली (१३ छनौटबाट र एक आयोजक) ले सहभागिता जनाउँदा दक्षिण अमेरिकाबाट मात्र ५ टोली सहभागिता जनाएका छन् ।

इतिहासकै उच्च लयमा क्रोएसिया 

खेलमा हार वा जीत जेसुकै होस्, क्रोएसियाले फाइनल पुगेर इतिहास रचिसकेको छ । सन् १९९१ मा युरोस्लाभियाबाट स्वतन्त्र हुने निर्णय गरेको क्रोएसियामाथि युरोस्लाभियाको सेनाले धावा बोलेको थियो । त्यसयता सन् १९९५ सम्म क्रोएसिया बाल्कन युद्धको चपेटामा रह्यो ।

मात्र ४२ लाख जनसंख्या भएको देश क्रोएसिया सन् १९५० पछि विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा साने देश हो ।

 

युद्ध सकिएलगत्तै इङ्ग्ल्यान्डमा भएको १९९६ को युरोकपमा प्रतिस्पर्धा गरेको क्रोएसिया क्वाटरफाइनलसम्म पुग्यो । सबैलाई आश्चर्यमा पार्दै फ्रान्समा भएको १९९८ को विश्वकपमा यो टोली सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा फ्रान्ससँग पराजित भएपछि तेस्रो स्थानका लागि भएको प्लेअफ खेलमा क्रोएसियाले नेदरल्यान्डस्लाई हरायो । सन् २००२, २००६ र २०१४ मा यो टोली विश्वकपको पहिलो चरणबाटै बाहिरियो ।

तेस्रोपटक फाइनल खेल्दै फ्रान्स 

फ्रान्सले तेस्रोपटक विश्वकपको फाइनल खेल्दैछ । घरेलु मैदानमै आयोजना भएको सन् १९९८ को विश्वकपको उपाधि जित्दा वर्तमान प्रशिक्षक डिडियर डेसच्याम्प नै टोलीका कप्तान थिए । त्यतिबेला फ्रान्सबाट जिनेदिन जिदान, हेनरी थियरी, प्याट्रिक भियरालगायतका खेलाडीहरुले निकै सुन्दर खेलेका थिए । जिदानकै प्रेरणादायी प्रदर्शनमा फ्रान्सले सन् २००६ मा फेरि विश्वकप फाइनल खेल्यो । तर, यसपटक टाइब्रेकरमा इटलीसँग पराजित भयो । सन् १९८४ र २००० को युरो च्याम्पियन फ्रान्स, दुई वर्षअघि मात्रै आफ्नै घरेलु मैदानमा युरो २०१६ को फाइनलमा पोर्चुगलसँग पराजित भएको थियो ।

युवा खेलाडीहरुले भरिएको फ्रान्स यसपटक विश्वकप जितेर उक्त घाउको पीडामा मल्हम लगाउन चाहन्छ । फ्रान्सले लगातार तीन फाइनल हारेको कल्पना पनि गर्न सक्दैन । त्यसैले स्वभाविक रुपमा आज क्रोएसियाभन्दा फ्रान्समाथि उपाधि जित्नुपर्ने दबाब धेरै हुनेछ ।

मिडफिल्डमा बलियो क्रोएसिया 
क्रोयसियाको मिडफिल्डमा लुका मोड्रिच र इभान राकिटिक छन् । यी खेलाडी वर्तमान समय विश्वकै सर्वोत्कृष्ट मिडफिल्डर मानिन्छन् । स्ट्राइकर मारियो माज्डुज्किच पछिल्ला खेलहरुमा निकै फर्ममा देखिएका छन् । विङ्गर इभान पेरिसिकले पनि इङल्यान्ड विरुद्ध निकै उत्कृष्ट खेले । डिफेन्समा डेजान लोभ्रेन र डोमागग भेडाको प्रदर्शन उच्चस्तरको छ । ३३ वर्षीय गोलकिपर डेनिजेल सुवासिच जारी प्रतियोगितामा गोल्डेन गोल्भ्सका दाबेदार हुन् । उनले डेनमार्क विरुद्धको खेलमा ३ पेनाल्टी जोगाएका थिए ।

क्रोएसियाका यी अनुभवी खेलाडीलाई एन्टिक रेवा, माटियो कोभाचिचजस्ता युवा खेलाडीको पनि गतिलो साथ छ ।  टोलीमा अनुभवी तथा युवा खेलाडीको संयोजन मिलेकै कारण क्रोएसियाले अहिलेसम्म खेलेका विश्वकपका ६ वटै खेल जितेको छ । त्यसक्रममा क्रोएसियाले पूर्व विजेता अर्जेन्टिना, आयोजक रुस र पूर्व विजेता इङल्यान्डलाई हराएको छ । आफ्नो यही लयलाई तन्काएर विश्वकपमा नयाँ इतिहास रच्ने क्रोएसियाको योजना छ । देशलाई मेडेन विश्वकप जिताएर अन्तर्राष्ट्रिय जगत््मा स्थापित गर्नका लागि आफ्नो पुरै शक्ति लगाएर खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । यही कारण हुनसक्छ, नकआउट चरणका तीनवटै खेलमा सुरुवातमा पछि परेर पनि क्रोएसियाले नतिजा आफ्नो पक्षमा पा¥यो ।

‘मेरा लागि अहिलेसम्म जितेका सबै उपाधि र एउटा विश्वकप उपाधिमध्ये विश्वकप नै ठूलो हुनेछ,’ रियल म्याड्रिडबाट च्याम्पियन्स लिग र ला–लिगासहित थुप्रै उपाधि जितेका क्रोएसियाका कप्तान लुका मोड्रिचले भनेका छन् । प्रतियोगितामा अहिलेसम्म २ गोल गरेका मोड्रिचले २ गोलका लागि पास मिलाईदिएका छन् । उनी मैदानमा धेरै समय छाएका छन् र गोलका लागि धेरैभन्दा धेरै अवसर सिर्जना गरेका छन् ।

अलस्टार खेलाडीको फ्रान्स

फ्रान्सका पाउल पोग्बा विपक्षी टोलीलाई आफुहरुले कमजोर नआँकेको बताउँछन् । क्रोएसियाको तुलनामा दाँजोमा फ्रान्सको टोली युवा खेलाडीहरुले भरिएको छ । ‘हामीलाई थाहा छ उनीहरुले पुरै शक्ति लगाएर खेल्नेछन् । उनीहरुसँग विश्वकै उत्कृष्ट मिडफिल्ड छ र उनीहरु आफ्नो ब्लेजमा तारा झुन्ड्याउन चाहन्छन् । उनीहरु अनुभवी पनि छन् । हामीसँग तारा छ । तर, यो तारा मैले जितेको होइन । अहिलेको टोलीका कसैले जितेको होइन । यो त इतिहास मात्रै हो । त्यसैले म पनि एउटा तारा थप्छु भन्ने इच्छा टोलीका हरेक खेलाडीमा छ,’ उनले भनेका छन्, ‘हाम्रो टोली युवाहरुले भरिएको छ । त्यसैले फाइनल अवश्य चुनौतीपूर्ण हुनेछ र रोमाञ्चक पनि । एउटा खेलाडीका लागि विश्वकप फाइनलजत्तिको खेल अरु हुन सक्दैन ।’

 

फ्रान्ससँग इतिहासकै उत्कृष्ट खेलाडीहरुले भरिएको टोली छ । मिडफिल्ड, डिफेन्स र अग्रपंक्ती सबैमा नाम चलेका खेलाडी छन् । कालियन एमबाप्पेले यस प्रतियोगितामा ३ गोल गरिसकेका छन् । एन्टोनियो ग्रिजम्यानले ३ गोल र ३ एसिस्ट गरेका छन् । ओलिभर जिरुड अग्रपंक्तीका अर्का उत्कृष्ट प्रतिभा हुन् । तर, यी खेलाडीले जारी विश्वकपमा गोल गर्न सकेका छैनन् ।

एनगोलो कान्टे फ्रान्सको मिडफिल्डका अर्का शशक्त हतियार हुन् । उनी डिफेन्स र आक्रामणमा उत्तिकै छाउँछन् । बल पाएपछि उनलाई रोक्न गाह्रो हुन्छ । बेन्जामिन मेन्डी, स्यामुयल उमटिटी, राफाल भाराने, बेन्जामिन पाभार्डलगायतको प्रदर्शन पनि जर्बजस्त देखिएको छ । अर्जेन्टिना विरुद्धको अन्तिम १६ को खेलबाहेक फ्रान्सले कुनै पनि खेलमा पछि पर्नुपरेको छैन । २–१ ले पछि परेको अवस्था उल्ट्याउँदै उक्त खेल ४–३ ले जितेको फ्रान्सेली टोली क्वाटरफाइनलमा उरुग्वेलाई २–० तथा सेमिफाइनलमा बेल्जियमलाई १–० ले पराजित गर्न सफल रह्यो ।

के भन्छन् प्रशिक्षक ?
क्रोएसियाका प्रशिक्षक ज्लाट्को डेलिकले आफ्नो टोलीले नयाँ इतिहास रचेर छाड्ने बताएका छन् । ‘तपाई इङल्यान्ड विरुद्धको खेल हेर्नुस् । यसमो पहिलो हाफ र दोस्रो हाफ दुुई लेगजस्तो थियो । खेलाडीहरु थाक्नुको सट्टा उल्टै जोशमा थिए । अतिरिक्त समयमा कोही पनि खेलाडी मैदान छोड्न चाहदैंनथिए । बेन्चमा भएका सबै खेलाडी मैदान छिर्न चाहन्थें । यस्तो गती रोक्न गाह्रो हुनेछ,’ उनले भने, ‘फ्रान्स उत्कृष्ट टोली हो । तर, हामीलार्ई रोकिनु छैन ।’

यता फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले फाइनलमा आफ्नो टोली दबाब बिना नै उत्रने बताएका छन् । ‘हामी इतिहासको बोझ उठाउन चाहन्नौं । यो फाइनल खेल हो भन्ने तथ्यलाई ध्यानमा दिएर खेल्छौं । हामीले विगतमा जेजस्तो उपलब्धि हासिल ग¥यौं । त्यस्तै उपलब्धि दोहो¥याउनुपर्छ भन्ने होइन । हामीलाई थाहा छ हामीले आफ्नो तर्फबाट उत्कृष्ट खेल्नुपर्छ,’ उनले भनेका छन् ।

हेड टु हेडमा फ्रान्स अघि 
फ्रान्स अहिलेसम्म क्रोएसियासँग पराजित हुन परेको छैन । उसले क्रोएसिया विरुद्धका ५ मध्ये दुई खेल जितेको छ । तीन खेल बराबरीमै सकिएको छ । विश्वकपमा यी दुई टोलीबीच सन् १९९८ को सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला १–० ले पछि परेको अवस्था उल्ट्याउँदै घरेलु टोली फ्रान्सले २–१ ले खेल जितेको थियो । फ्रान्सबाट दुबै गोल लिलियम थुरामले गरेका थिए ।