कुहुँमा सार्वजनिक सुनुवाई

  • ३१ असार २०७५, आईतवार
  • प्रताप बानियाँ
  • 2310 पटक पढिएको

म्याग्दी, असार ३१ । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाईटीको सहजीकरण र मंगला गाँउपालिकाको आयोजनामा सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा सङ्कलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा सहभागी कुहुँका स्थानीय बासिन्दाहरुले शिक्षकको तलब÷भत्ता निकाशामा ढिलाई भएको, गाउँपालिका कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती, कर्मचारीको वेवास्ता, कृषिसम्बन्धी कार्यक्रमहरु खासै नभएको, सरकारी कार्यालयहरुमा सरसफाई नगरिएको, जनप्रतिनिधिहरु नभेटिएको जस्ता गुनासाहरु गरेका थिए । यसैगरी उनीहरुले युवा पलायन रोक्न कार्यक्रमहरु सञ्चालनका लागि जोड नदिइएको, सामाजिक सुरक्षाभत्ता लिन ज्येष्ठ नागरिकलाई सास्ती भएको, उपभोक्ता समितिलाई तालिमको व्यवस्था नगरिएको सवालहरु पनि उठाएका थिए ।

कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिँदै मंगला गाउँपालिकाका उपाध्यक्ष सृजना केसीले नागरिकहरुलाई पहिलो प्राथमिकता दिएर सेवाप्रवाह गरिने बताइन् । उनले टोलवस्ती स्तरबाटै योजनाहरु छनोट गरिने हुँदा कृषि, पशुपालन, आयआर्जनका व्यवसायमूलक क्षेत्रलाई समावेश गरिएको बताउँदै कर्मचारीको अभावका कारण जनचाहना अनुसार काम गर्न नसकिएको बताइन् । उनले गाउँपालिकमार्फत विभिन्न किसिमका गौरवका योजनाहरु प्रस्तुत गरिएको भन्दै लक्षित वर्गको क्षेत्रमा पनि बजेट विनियोजन गरिएको बताएकी थिइन् ।

मंगला गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जनताको समस्याहरुलाई कर्मचारीको अभावमा भनेजति काम गर्न नसके पनि प्राथमिकताका साथ काम गर्ने गरिएको बताए । उनले योजना सञ्चालन तथा सम्पन्न भएपछि भुक्तानीका लागि आवश्यक सबै कागजात र प्रक्रियाहरु पुरा गरेर आउन आग्रह गर्दै नबुझेका विषयलाई वडा कार्यालय र गाउँपालिमा वा सम्बन्धित व्यक्तिसमक्ष सम्पर्क राख्न अनुरोध गरेका छन् ।

गाउँपालिकाका कृषि शाखा प्रमुख निरन्जन तिवारीले चालु वर्षमा कृषि क्षेत्रमा छुट्टिएको बजेट जम्मा ५० प्रतिशत मात्रै खर्च भएको बताउँदै व्यावसायिक कृषि तथा तरकारी खेतीलाई जोड दिएको जानकारी दिए । कार्यक्रममा गाउँ कार्यपालिका सदस्य डिलकुमारी खत्री, वडा अध्यक्ष क्या. डेगबहादुर राम्जाली र सचिव श्रीराम पौडेलले सहभागीले उठाएका सवालहरुको जवाफ फर्काएका थिए ।

कार्यक्रममा सहभागीहरु भद्रबहादुर घर्ती क्षत्री, एकजित रोका, गोविन्दबहादुर खत्री, धनबहादुर रोका, गौमती रोका, नन्दबहादुर खत्री, नवीन राम्जाली, रनबहादुर खत्री, पूर्णमाया शेरपुञ्जा र डेकबहादुर खत्रीले प्रश्न गरेका थिए । कार्यक्रममा वडा सचिव श्रीराम पौडेलले चालु वर्षमा गाउँपालिका र वडा कार्यालयमार्फत सञ्चालित योजना तथा सेवा प्रवाहको बारेमा जानकारी गराएका थिए ।  कार्यक्रम वडा अध्यक्ष क्या. राम्जालीको अध्यक्षता, सचिव पौडेलको स्वागत र पत्रकारद्वय हरिकृष्ण गौतम तथा प्रताप बानियाँको सहजीकरण तथा सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रताप बानियाँ