बरंजामा सार्वजनिक सुनुवाई

  • ३० असार २०७५, शनिबार
  • 2670 पटक पढिएको

म्याग्दी, असार ३० । म्याग्दीको मंगला गाउँपालिकाको बरंजामा शनिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७४/७५ मा गाउँपालिकाले सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रवा हर सामाजिक सुरक्षा भत्ता वितरणको बिषयमा गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा सो कार्यक्रम सम्पन्न गरिएको हो । गाउँपालिकाले प्रवाह गरेको सेवा, विकास निर्माणका योजना कार्यान्वयन तथा, जनताको सुझाब र गुनासा संकलन गर्ने उदेश्यले आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा मंगला गाउँपालिका–३ र ४ वडाका सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले योजना कार्यान्वयनको लागि उपभोक्ता समितिलाई तालिमको व्यवस्था गर्न, कृषि र पशु सेवाका प्राविधिकहरुलाई गाउँमै बसेर काम गर्ने वातावरण मिलाउन, अनुदानका सुविधामा समान अवसर दिन, लक्षीत समुदायको बजेटलाई सही उपयोग गर्न लगायतका माग गरेका थिए । त्यसैगरि उनीहरुले गाउँमा विद्यूतिकरणको लागि प्रयोग गरिएका काठका पोल जिर्ण रहेकाले दुर्घटनाको जोखिम बढेको भन्दै तत्काल काठका पोल परिवर्तन गरि फलामे पोल राख्नको लागि पहल थाल्न गाउँपालिकाको ध्यानकर्षण गराएका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाले आगामी आर्थिक बर्षमा सञ्चालन गर्न लागेका विकास निर्माण योजनाहरुलाई समयमै सम्झौता गरि प्रभाबकारी कार्यान्वयनमा जुट्न आह्वान गर्दै विकास निर्माणमा जनसहभागीता बढाउन आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाले आफु मातहतको सेवा प्रवाहलाई नागरिकको सहज पहुँच तथा छिटो, छरितो र प्रभाबकारी बनाउन आबश्यक तयारी गरेको बताउँदै बिषयगत शाखाका कर्मचारी, एवम प्राविधिकहरुलाई आ–आफ्नो क्षेत्रमा प्रतिबद्ध भएर जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष कविन्द्र रोका र वडा ४ का अध्यक्ष ओम बहादुर रोकाले चालु आर्थिक बर्षमा वडामा सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रोका, वडा अध्यक्षहरु रोकाद्धय, गाउँपालिकाका कार्यकारी सचिब राजेन्द्र आचार्य, वडा सचिब पबि थापा लगायत बिषयगत शाखाका प्रतिनिधिहरुले सहभागीहरुले उठाएका पश्न र जिज्ञासाहरुको जबाफ दिएका थिए ।

कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख विश्व श्रेष्ठ, कृषि सेवा प्राविधिक जगत बहादुर बानियाँ, पशु सेवा प्राविधिक अनिता सापकोटा, सुआहारा प्रतिनिधि भिम कुमारी बुढाथोकीले समेत आ–आफ्नो क्षेत्रमा भएका कार्यक्रम र गतिविधिको बारेमा जानकारी गराएका थिए । वडा नम्बर ३ का अध्यक्ष रोकाको अध्यक्षता, महेन्द्ररत्न माविका प्रअ कृष्णलाल सापकोटाको मन्तव्य, वडा नम्बर ४ का अध्यक्ष रोकाको स्वागत र म्याग्दी मिडियो सोसाईटीका अमित विश्वकर्मा र कमल खत्रीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।