म्याग्दीमा १२ हेक्टर क्षेत्रफलमा टिम्मुर खेती विस्तार

  • २९ असार २०७५, शुक्रबार
  • 2885 पटक पढिएको

बेनी २९ असार । म्याग्दीमा यस वर्ष १२ हेक्टर क्षेत्रफलमा मसलेदार फल टिम्मुरको खेती विस्तार भएको छ । जिल्ला वन कार्यालयले उपभोग बिहीन खाली पाखोको सदुपयोग गरी समुदायको आयआर्जन वृद्धीमा सघाउने उद्देश्यले सामुदायीक वन र निजी वनमा टिम्मुर खेती विस्तार गरेको हो । तिन वटा सामुदायीक वन र ११ जना कृषक हरु मार्फत १२ हजार भन्दा बढी टिम्मुरका बिरुवा रोपण भएको जिल्ला वन कार्यालयले शुक्रबार बेनीमा आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा वन अधिकृत माधव देवले जानकारी गराउनुभयो ।

बेनी नगरपालीका ९ तोरीपानीको निलपहरा र तुसारेपानी महिला तथा रघुगंगा गाउँपालीका ४ को दग्नाम सामुदायीक वनको एक, एक हेक्टर क्षेत्रफलमा एक हजार वटाका दरले टिम्मुरका विरुवा रोपीएको छ । ११ जना कृषकहरुलाई टिम्मुरका बिरुवा खरिद, ढुवानी र रोपणका लागि एक लाख रुपैया सम्म नगद अनुदान उपलब्ध गराइएको छ । उनिहरु मार्फत ९ हेक्टर क्षेत्रफलमा टिम्मुर खेती विस्तार भएको छ । तरकारी, अचार र दालमा मसलाको रुपमा प्रयोग हुने टिम्मुरको बजारमा माग बढेपछि खेती विस्तारमा जोड दिइएको सहायक वन अधिकृत राजकुमार ठाकुरले बताउनुभयो । गत वर्ष म्याग्दीबाट दुई हजार १२ किलोग्राम टिम्मुर निकासी भएको वन कार्यालयले जनाएको छ ।

यसैबीच बेनी नगरपालिका ९ तोरीपानीमा जडिवुटी भण्डारण तथा प्रसोधन केन्द्र स्थापना भएको छ । जिल्ला वन कार्यालयको सहयोगमा निलपहरा सामुदायीक वन उपभोक्ता समूहले टिम्मुर सुकाउने, प्रसोधन, तौलने र पिधेर मसला बनाउने औजार खरिद गर्नुका साथै भवन निर्माण भएको हो । औजार खदिरका लागि दुई वर्षअघि दश लाख रुपैया अनुदान उपलब्ध गराएको वन कार्यालयले यस वर्ष भवन बनाउन तिन लाख ९० हजार रुपैया सहयोग गरेको थियो । आगामी यामदेखि टिम्मुर प्रसोधन गरेर निकासी गर्ने तयारी भएको समूहका अध्यक्ष सागर बानियाले बताउनुभयो ।

यसैबीच रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेको कृष्ण तालाबन्दि सामुदायीक वन उपभोक्ता समूहले ब्यवसायीक रुपमा सतुवा जातको जडिवुटी खेती सुरु गरेको छ । डेढ हेक्टर क्षेत्रफलमा सामुहिक सतुवा खेती गरिएको सहायक बन अधिकृत सागर खतिवडाले बताउनुभयो । सतुवा खेतीका लागि समूहले एक लाख ६० हजार रुपैया अनुदान उपलब्ध गराएको छ । यसैगरी जिल्ला वन कार्यालयले अल्लो पूवा प्रसोधन र अल्लो कपडा निर्माण गर्ने औजार खरिद गर्न धवलागिरी गाउँपालिका ७ धारापानीमा रहेको नेचुरल नेपलिज ह्याण्डीक्राफ्ट प्रोडक्सन हाउसलाई तिन लाख ९० हजार रुपैया अनुदान उपलब्ध गराएको छ ।

सहायक वन अधिकृत बिमला लम्सालले सञ्चालन गर्नुभएको कार्यक्रममा बन अधिकृत देवले यस वर्ष कार्यालयलाई ८२ लाख ८४ हजार रुपैया बजेट प्राप्त भएकोमा ७९.८३ प्रतिशत अथवा ६५ लाख ८४ हजार ३१० रुपैया खर्च भएको जानकारी गराउनुभएको थियो । वन अधिकृत देवले आर्थिक वर्ष २०७४/७५ मा ११ प्रजातीका १७ हजार ९७४.२५ किलोग्राम जडिवुटी निकासी अनुमती दिएवापत दुई लाख ७१ ह्जार ८० रुपैया राजस्व संकलन भएको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र प्रजिअ लिलाधर अधिकारीले वन क्षेत्रको संरक्षणसंगै प्रभावकारी व्यवस्थापनमा जोड दिनुभएको थियो । उहाँहरुले म्याग्दीको उच्च पहाडी र लेकाली क्षेत्रमा जडिवुटीको अब्वयस्थीत रुपमा अत्याधित दोहन भएको गुनासो आएकाले निगरानी र सक्रियता बढाउन आग्रह गर्नुभयो ।