दाङखोलामा बेलिब्रिज जडान

  • २९ असार २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 2012 पटक पढिएको

म्याग्दी २९ असार । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने फेदी स्थित दाङखोलामा बेलिब्रिज जडान भएको छ ।  दरवाङ–धारापानी–ताकम–मुना सडकमा सिधा र नियमित सवारी सञ्चालन गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको पहलमा दाङखोलामा बेलिब्रिज निर्माण भएको हो । बेलिब्रिजको शुक्रबार गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको थियो । अध्यक्ष पुनले गाउँपालिकालाई जोड्ने एक मात्र सडकमा सहज रुपमा सिधा र नियमित सवारी सञ्चालन गर्नका लागि अस्थाई बेलिब्रिज निर्माण गरिएको बताउनुभयो । बेलिब्रिज जडान भएपछि धवलागिरी गाँपालिकाको धारापानी, ताकम, मुना, मुदी, लुलाङ, गुर्जा र ढोरपाटन क्षेत्रका बासिन्दालाई सुबिधा पुगेको छ ।

बेलिब्रिज नहुँदा दाङखोलामा बर्खायाममा सवारी वारपार गर्न नसक्ने अवस्था थियो । बेलिब्रिज बनेपछि सवारी परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात ब्यवसायी खुमबहादुर थापाले बताउनुभयो । आवत, जावत, निर्माण सामाग्री, दैनिक उपभोग्य सामानको ढुवानी र गाउँमा उत्पादन भएका कृषि तथा पशुजन्य बस्तु निकासीमा सहज भएको थापाले बताउनुभयो । वि.स २०७० मा दरवाङ हुदै ताकममा सडक पुगेको थियो । २१.२० मिटर लामो बेलिब्रिज निर्माणमा ३५ लाख आठ हजार ४८ रुपैया लगानी भएको गाउँपालिकाका असिस्टेन्ट सब ईञ्जिनियर दिपेन्द्र थापाले बताउनुभयो । गाउँपालिकाको ३३ लाख २८ हजार रुपैया अनुदान र दुई लाख ८४ हजार ७८ रुपैया बराबरको जनसहभागीतामा पुल निर्माण भएको हो ।

तिन वटा पाँच मिटर अग्लो पक्कि पिल्लर बनाइएको पुलमा आठ वटा फलामका बिम राखिएको छ । फलामका बिम माथि सल्लाका काठ राखेर सवारी गुडाउने व्यवस्था मिलाइएको अर्का असिस्टेन्ट सब ईञ्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो । बेलिब्रिजको पिल्लरको दायादायाँ ग्यावियन पर्खाल बनाएर संरक्षण गरिएको छ । यो योजना धवलागिरी गाउँपालीमा चालु आर्थिक वर्षको गौरवको आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

सन्तोष गौतम