धौलागिरिको ताकममा प्रभु बैँकको शाखा विस्तार

  • २९ असार २०७५, शुक्रबार
  • 1871 पटक पढिएको

म्याग्दी, २९ असार । म्याग्दीको धौलागिरि गाउँपालिकामा प्रभु बैँकको शाखा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको बैंकको अनुमती पाएको प्रभु बैँकले विहिवार धौलागिरि गाउँपालिका–७ ताकममा शाखा विस्तार गरेको हो । गाउँपालिकाभित्रका सेवाग्राहीहरुलाई लक्षित गरेर प्रभु बैँकले औपचारिक रुपमा कारोबार सुरु गरेको हो ।

विहिवार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा १५४ औँ शाखाको रुपमा बैँकीङ कारोबार सुरु गरेको बैँकले सोही दिन ताकममा समेत १५५ औँ शाखाको रुपमा कारोबार सुरु गरेको हो । ताकममा आयोजित भव्य समारोहमा गाउँपालिका अध्यक्ष थमसरा पुनले बैँकको शाखाको औपचारिक समुदघाटन गर्नुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले भौगोलिक रुपमा दुर्गम भुभाग समेटीएको धौलागिरिमा बैँकीङ पहुँच विस्तारले सरकारी कारोबार गर्न सहज भएको बताउनुभयो ।

उहाँले दुर्गम क्षेत्रमा बैँकिङ पहुँच विस्तार संगै धौलागिरि क्षेत्रका नागरिकहरुलाई आर्थिक कारोबार गर्न सहजता मिलेको बताउँदै स्थायबासीलाई आर्थिक कारोबारको लागि समय र पैसाको खर्च गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमु बैँकको बारेमा जानकारी गराउँदै बैँकका क्षेत्रीय कार्यालयका अधिकृत उत्तमकुमारराज भण्डारीले म्याग्दीको सबै स्थानीय तहमा बैँकको शाखा विस्तार गर्ने अभियान अन्र्तगत ताकममा बैँकीङ कारोबार सुरु गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष झक बहादुर छन्त्याल, ७ का वडा अध्यक्ष अध्यक्ष कलानीधि सुवेदी, हेम मावि सिवाङका प्रअ शेरबहादुर केसी, स्थानीय अगुवा खुमनाथ सुवेदी , ताकम मावि व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन मनबहादुर भण्डारी लगायतले ग्रामीण भेगमा क बर्गको बैँक स्थापना संगै स्थानीयबासी, जनप्रतिनिधि, सरकारी कर्मचारी तथा कृषक र व्यवसायिकहरलाई समेत कारोबार गर्न सहज हुने अपेक्षा व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रभु बैँकका दरबाङ शाखा प्रमुख विपिन चोखालले गर्नुभएको थियो ।

बैँकको सो शाखा मार्फत निक्षेप संकलन, कर्जा लगानी, रेमिटेन्स लगायतका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरको बैङ्कीङ सेवा सहज, छिटो, छरिटो रुपमा प्रदान गरिने जनाईएको छ । एक स्थानीय सरकार एक बैँकको अबधारण अनुसार प्रभु बैँकले शाखा विस्तार गरेपछि उपभोक्ता समितिको खाता सञ्चालन, कर्मचारीको तलब, सामाजिक सुरक्षा भक्तालाई बैँक मार्फत वितरण गर्ने लगायतका सरकारी कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ । म्याग्दीको बेनी र मालिका गाउँपालिकाको केन्द्र दरबाङमा यस अघि नै शाखा विस्तार गरेको बैँकले मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा समेत छिट्टै शाखा विस्तार गर्ने तयारी भैरहेको प्रभु बैँक बेनी शाखाकी प्रवन्धक लालकुमारी खड्काले जानकारी दिनुभयो ।