क्याम्पसचोकको बाढी नियन्त्रणका लागि खोल्सामा ग्याविनको छेकबाँध निर्माण

  • २६ असार २०७५, मंगलवार
  • सन्तोष गौतम
  • 2058 पटक पढिएको

 


बेनी २६ असार । बेनी नगरपालीका ८ स्थित क्याम्पसचोकमा बाढी नियन्त्रणका लागि खोल्सामा ग्यावियनको छेकबाँध निर्माण भएको छ । पाखोको खोल्साबाट आउने बाढीका कारण क्याम्पसचोकमा बर्षेनी हुदै आएको डुवान र बाढीको समस्या समाधानका लागि बेनी नगरपालीकाले छेकबाँध निर्माण गरेको हो । बजार माथिको पाखो भएर बग्ने खोल्सामा यस वर्ष १०२ थान ग्यावीयन पर्खाल बनाएर छेकबाँध निर्माण गरिएको बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले बताए ।

उक्त योजनाका लागि नगरपालीकाले चालु आर्थिक वर्षमा १२ लाख ५० हजार रुपैया बिनियोजन गरेको थियो । पाखोबाट आउने बाढीलाई रोक्ने र कटान हुन नदिएर सुरक्षित रुपमा बाढी ब्यवस्थापनका लागि छेकबाँध प्रबिधि अपनाइएको नगरपालीकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले बताए । बाढी नियन्त्रणका लागि खाली पाखोमा अम्ब्रिसो र बाँस प्रजातीका बिरुवा रोपीएको वडा अध्यक्ष बराईलीले बताए ।

यसैबीच बेनपा ८ को घतान चोक देखि जामुनाखर्क जाने बाटोमा ५४ मिटर पक्कि सिढी सहितको पदमार्ग निर्माण भएको छ । यो योजनाका लागि नगरपालीकाले चालु आर्थिक वर्षमा तिन लाख रुपैया बिनियोजन गरेको वडा सदस्य हिमबहादुर भण्डारीले बताए । दुई लाख रुपैया बिनियोजन भएको बजेटबाट अस्पताल गेट देखि जामुनाखर्क जोड्ने सडकको पाँच सय मिटर भन्दा बढी ट्याक निर्माण भएको छ ।

बेनीको विश्वकर्मा टोलमा ११ मिटर नाली र त्यतीकै दुरीमा सडक ढलान गरिएको छ । कालीपुलमा प्रवेशद्धारा निर्माण भएको छ । ८ नम्बर वडाभित्रका सडक फराकीलो बनाउनुका साथै कालोपत्रे र मर्मत गरिएको वडा सदस्य हिरा पुनले बताए । अस्पताल चोकमा कन्भेक्स ऐना राख्नुका साथै बजारको सडकमा डिभाईडर, जेब्रा क्रस र क्याट आई राखिएको छ ।

कालीपुल बसपार्कको सार्वजनीक शौचालयलाई व्यवस्थित बनाएको नगरपालीकाले कालीपुल स्थित कालीगण्डकी नदी किनारमा स्नान स्थल बनाएको छ । कवर्डहलको पार्केटीङ गरिएको छ । म्याग्दी प्रवेशद्धार अगाडी २४ मिटर पक्कि नाली निर्माण गरेर ढल व्यवस्थापन गरिएको छ । कालीपुल देखि विद्युत प्राधिकरणको कार्यालय देखि गणेशटोल हुदै बजार छिर्ने बैकल्पीक सडक निर्माणको काम सुरु भएको छ ।

अस्पतालचोकको नयाँ बस्तीमा ढल निकासका लागि पक्कि नाली निर्माण भएको छ । बेनी नगरपालीकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुषाल लगायत जनप्रतिनिधि, कर्मचारी र प्राबिधिकहरुको टोलीले मंगलबार बेनी नगरपालीका ८ मा चालु आर्थिक वर्षमा सञ्चालीत योजनाहरुको कार्यान्वयनको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको थियो ।

सन्तोष गौतम