म्याग्दीका तीनजना युवालाई उत्कृष्ट युवा सम्मान

  • २६ असार २०७५, मंगलवार
  • प्रताप बानियाँ
  • 3073 पटक पढिएको

म्याग्दी, २५ असार । ‘समृद्ध नेपालका लागि, स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने नारासहित सोमबार म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला युवा समितिको आयोजनामा युवा सम्मान कार्यक्रम सम्पन्न भएको छ । युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरुको कार्यलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो ।

म्याग्दी जिल्लामा क्रियाशिल युवाहरुमध्येबाट छनोट गरेर विभिन्न विधातर्फ तीनजना युवाहरुलाई सम्मान गरिएको जिल्ला युवा समितिको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साङ्गीतिक क्षेत्र, सामाजिक तथा खेलकुद र पेशा एवं व्यवसाय अन्तर्गत पशुपालनतर्फ उत्कृष्ट युवा छनौट गरेर सम्मान गरिएको छ । उनीहरुलाई अबिर र खादा लगाई सम्मानपत्र तथा नगदसहित सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा मंगला गाउँपालिका–१, कुहुँ घर भएका चर्चित सङ्गितकार दीपक शर्मा, बेनी नगरपालिका–९, काउलेगौंडाका समाजसेवी युवा तथा भलिबल खेलाडी तेजेन्द्र बानियाँ र मालिका गाउँपालिका–३, डाँडागाउँका बङ्गुरपालक कृषक टकबहादुर बुढा रहेका छन् । सम्मानित तीनैजना युवालाई क्रमशः सात÷सात हजार रुपैयाँका दरले नगद र प्रमाणपत्र प्रदान गर्नुका साथै खादा ओढाएर सम्मान गरिएको थियो । उनीहरुलाई गण्डकी प्रदेशका सांसद विनोद केसी, जिल्ला युवा समितिका अध्यक्ष देवीप्रसाद शर्मा (डिपी) र कार्यालय प्रमुख दलबहादुर थापाले सम्मान गरेका थिए ।

विगत एक दशकदेखि सङ्गितको क्षेत्रमा क्रियाशिल कुहुँका शर्माले करिब एक हजार गितमा सङ्गित भरेका छन् । उनी सङ्गित क्षेत्रमा निकै लागिपरेका छन्भने उनले यसैलाई निरन्तर रुपमा अगाडि बढाउने योजना बनाएका छन् । काउलेगौंडाका युवा बानियाँ सामाजिक क्षेत्रका साथै खेलकुदका क्षेत्रमा क्रियाशिल छन् । भलिबल खेलमा निकै च्याम्पियन रहेका बानियाँ लोकप्रिय खेलाडीका रुपमा चिनिन्छन् । यसैगरी विदेशबाट फर्किएपछि बङ्गुरपालन व्यवसाय सुरु गरेका बुढाले मासिक ५० हजार रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् । युवाहरुमा जोश, जाँगर र उत्साह ल्याउनका लागि युवा समितिले युवाको कार्यप्रति थप हौसला दिन सम्मान गरेको जानकारी दिएको छ ।

जिल्लाका उत्कृष्ट युवालाई सम्मान गर्दै सांसद विनोद केसीले युवाहरुलाई उद्यमशिलतातर्फ आकर्षित बनाउन राज्यले जोड दिएको बताएका छन् । उनले अब राजनीतिक आन्दोलन सकिएको हुँदा व्यावसायिक आन्दोलन गर्नुपर्ने बताउँदै युवालाई आयआर्जन, व्यवसाय र उत्पादनमूलक क्षेत्रमा आबद्ध गराउनुपर्ने बताए । युवा समितिका अध्यक्ष डिपी शर्माले सानो लगानीबाट युवाहरुले पेशा तथा व्यवसाय सुरु गर्नुपर्ने बताउँदै राज्यलाई मैले के योगदान गर्न सक्छु भनेर युवाहरु पनि अगाडि बढ्नुपर्ने बताए ।

सोही कार्यक्रमको अवसरमा यसअद्धि जिल्ला युवा समितिद्वारा सञ्चालित तीन महिने सिप विकास सिलाइकटाई तालिममा सहभागी १० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण र प्रशिक्षक मिना पुनलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रम युवा समितिका अध्यक्ष शर्माको अध्यक्षता, कार्यालय प्रमुख दलबहादुर थापाको स्वागत र कम्प्युटर अपरेटर अमृतप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रताप बानियाँ