रघुगंगामा पर्यटन गुरुयोजना तयार

  • २५ असार २०७५, सोमबार
  • 2438 पटक पढिएको

म्याग्दी, २५ असार । रघुगंगा गाउँपालिकाले प्रसिद्ध दुई धार्मिकस्थल गलेश्वरधाम र ऋखार क्षेत्र जोड्ने पदमार्गलाई उच्च प्राथामिकता दिदै पर्यटन गुरुयोजना तयार पारेको छ । शुभारम्भ उद्यमशील नेपालको सहकार्यमा पर्यटन विज्ञ सहितको टोलीले बस्तीस्तरमा पुगेर गुरुयोजना तयार पारेको हो ।


गुरुयोजनाले पाँच बर्षभित्र पर्यटनको क्षेत्रमा गर्न सकिने संभावनाको विषय उजागर गरेको छ । गाउँपालिकाको सबै बस्तीमा पुगेर स्थानीय अगुवा, जनप्रतिनिधी र विज्ञको राय बमोजिम, पदमार्ग, घरबास (होमस्टे) र पर्यटनका पूर्वाधार निर्माणमा संभाबनालाई समेटेर पञ्चबर्षीय गुरुयोजना तयार गरिएको शुभारम्भका प्रमुख रामचन्द्र सुवेदीले जानकारी दिए । ‘प्रदेश र संघले गर्नेका अतिरिक्त गाउँपालिकास्तरमा हुने योजनाहरु हामीले किटान गरेका छौँ’, उनले भने ।
गुरुयोजनाले सबै वडाको पर्यटकीय संभावनाको खोजीसँगै आवश्यक पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले सप्तऋषिले तपस्या गरेको पवित्र क्षेत्र ऋखार र प्रसिद्ध धार्मिकस्थल गलेश्वरलाई जोड्ने गरि गुरुयोजना बन्नु महत्वपूर्ण रहेको बताए । पर्यटनसँग सम्बन्धित जुनसुकै योजना गुरुयोजना अनुसार नै अघि बढाउने उनको भनाई छ । ‘गाउँ नै गाउँले भरिएको रघुगंगा पर्यटनको भर्जिन ठाउँ हो’, उनले भने, ‘होमस्टेको उच्च संभावना छ, त्यसका लागि हामीले हरेक गाउँमा आवश्यक तालिम र सहजीकरणको काम गर्नेछौँ ।’ बेनी नगरपालिका ९मा अवस्थित गलेश्वरको गायत्री मन्दिर–मौवाफाँट–दग्नाम–दरमिजा–तातोपानी कुण्ड–चिमखोला–घ्यासीर्खक–दुवाडी हुदै ऋखार क्षेत्र पुग्ने नयाँ पदमार्गको प्रस्ताब गुरुयोजनामा उल्लेख छ ।
अध्यक्ष भण्डारीले भने, ‘यसको पूर्वाधार विकासमा पनि हामी लाग्नेछाँै, यो एक हप्ताको रुट बन्नेछ ।’ छोटो दुरीका लागि गलेश्वर गायत्री मन्दिर–भगवति–रुईसे भएर बेनी फर्किने र अर्को रुईसे–नौली बराह–देउराली–बादुक हुदै अग्लो पुल निस्कने पदमार्ग निर्माण गर्न सकिनेछ । केहि बर्ष अघि रघुगंगा क्षेत्रमा पहिचान भएको धौलागिरि सेञ्चुरी र धौलागिरि आईसफलका अतिरिक्त अन्य पदमार्ग निर्माणमा विशेष जोड दिएको छ । ‘गाउँपालिकाभित्र रहेको पर्यटकीय संभावना, कला–सँस्कृतिको माध्यमबाट स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने गरि गुरुयोजनालाई कार्यान्वयनमा ल्याउनेछौँ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चापाँगाईले बताए ।