जलाधार व्यवस्थापन कार्यक्रम मार्फत नौ ठाउँमा पहिरो नियन्त्रण

  • २५ असार २०७५, सोमबार
  • 2155 पटक पढिएको

बेनी २५ असार । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीले सञ्चालन गरेको विद्युत जलाशय क्षेत्रको एकिकृत जलाधार व्यवस्थापन कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीमा नौ वटा योजना तथा कार्यक्रम भएका छन् ।

कार्यालयले सोमबार बेनीमा आयोजना गरेको समिक्षा कार्यक्रममा जलविद्युत आयोजनाको दिगोपनाका लागि प्रभावीत क्षेत्रमा पानीको स्रोत संरक्षण, भुक्षय र पहिरो रोकथाम गर्ने उद्देश्यले बेनी नगरपालीका र रघुगंगा गाउँपालीकामा विभिन्न योजना निर्माण भएको जानकारी गराइएको थियो । कार्यालयको २७ लाख दश हजार ११४ रुपैया अनुदान, स्थानीय तहको चार लाख २७ हजार सहयोग र उपभोक्ताहरुको १३ लाख ४० हजार ९५० रुपैया बराबरको श्रमदानमा ५५४ थान ग्यावीयन पर्खाल लगाइएको ९ वटा संरक्षण योजनाबाट ४४८ घरधुरी लाभान्वित भएका भुसंरक्षण अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।

बेनपा ९ घतानमा आगाखेत आरते र रघुगंगा ५ झिँमा चेप्टेखोला गल्छी उपचार, तोरीपानी, ठाडाखानी, पात्लेखत, पिप्लेको दमेकी, पात्लेखेतको बोक्से र झिँमा पहिरो रोकथामका लागि उपभोक्ता समिति मार्फत ग्यावियन पर्खाल निर्माण गरिएको छ । चालीस लाख रुपैया बजेटको कार्यक्रम मार्फत पात्लेखेत, घतान, झिँ र पाखापानीमा हरियाली प्रर्वद्धनका लागि वृक्षारोपणको काम भैरहेको छ । कार्यक्रममा सहभागीहरुले जलविद्युत आयोजनाको दिगोपना र विपद्को जोखिम न्युनीकरणका लागि जलाधार क्षेत्रमा संरक्षणमुलक योजना सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षता र भुसंरक्षण कार्यालयका सब ईञ्जिनियर बिरेन्द्रकुमार महतोले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रजिअ लिलाधर अधिकारी, रघुगंगा गाउँपालीकाका उपाध्यक्ष कमला तिलीजा लगायत जनप्रतिनिधी र सरोकारवाला कार्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।