बरंजालाई गाउँपालीकाको केन्द्र बाबियाचौर संग जोड्ने सडक निर्माण

  • २३ असार २०७५, शनिबार
  • कमल खत्री
  • 3922 पटक पढिएको

म्याग्दी, २३ असार । म्याग्दीको मंगला गाउँपालीका ३ र ४ नम्बर वडा बरंजालाई गाउँपालिकाको केन्द्र बावियाचौरसंग जोड्ने सडक निर्माण भएको छ । चालु आर्थिक वर्ष २०७४/७५ मा वडाको प्रस्तावमा गाउँपालीकाले बिनियोजन गरेको रु ६० लाख ५० हजारको बजेटमा स्थानीयले श्रमदान समते जुटाएर करिब ६ किलोमिटर सडक निर्माण गरेका हुन् । अर्मनको पोक सातबिसे तोरीडाँडा खर्क हुदै ३ नम्बरको वडा कार्यालय जोड्ने नमुना सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बलराम सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सडक निर्माणमा समुदायको तर्फबाट रु ६ लाख ५० हजार बराबरको श्रमदान गरिएको छ । गाउँपालिकाले नमुना सडक निर्माण गर्ने उदेश्यले विनियोजन गरेको बजेटबाट ट्याक निर्माण भएसंगै वडा नम्बर ३ र ४ बरंजाका स्थानीयलाई गाउँपालिकाको केन्द्र सम्म आवत जावत गर्न सहज भएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।

यस सडक निर्माण नहुँदासम्म बरंजाका स्थानीयले गाउँपालिकाको केन्द्र बावियाचौर आउनको लागि बरंजा, पखेर, तातोपानी हुँदैको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । छोटो र स्तरीय सडक निर्माण भएपछि बरंजाबासीलाई गाउँपालिका पुग्न झण्डै ४५ मिनेटको बाटो छोटिएको छ । नियमित रुपमा सवारी वारपारको लागि बावियाचौर र अर्मन जोड्नको लागि म्याग्दीखोलामा पक्कि पुल निर्माण गर्ने योजनाको आबश्यक प्रकृयाहरु समेत अघि बढाइएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । उहाँका अनुसार, पखेर र तातोपानीलाई जोड्ने म्याग्दीखोलामा समेत मोटरेवल पुल निर्माण योजनाको टेक्का प्रकृया अगाडी बढीसकेको छ ।

सडकलाई दिगो बनाउन सडकको दायाँ र बायाँ अम्रिसो लगायतका विरुवा समेत रोपण गरिएको छ भने कतिपय ठाउँमा,नाली निर्माण र ग्याविन लगाएर समेत संरक्षणको कामलाई संगसंगै अगाडी बढाईएको उपभोक्ता समितिका अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । गाउँपालिकाबाट यसै बर्ष साम्तुङ झाँझेपानी हुदै किमचौर सडक , पोक, किमचौर सडकm पूर्णगाउँ, टोड्के सडकलाई समेत स्तरोन्नती गरिएको छ । गाउँपालिकाले आगामी वर्षलाई सडक वर्षका रुपमा मनाउने नीति लिएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो । उहाँले गाउँपालिकासंग हरेक वडाको सहज आवत जावत गराउने लक्ष्य अनुसार सडकलाई स्तरोन्नतीका योजनालाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l