मलेसियामा धमाधम पक्राउ पर्न थाले गैरकानुनी कामदार

  • १७ असार २०७५, आईतवार
  • 1823 पटक पढिएको

क्वालालम्पुर — मलेसियाले गैरकानुनी आप्रवासी कामदारहरुको देशव्यापी धरपकड र खोजी अभियान सञ्चालन गर्ने भएको छ । वैधानिक प्रक्रियामा ल्याउन सञ्चालन गरिएको ‘पुन: भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै गैरकानुनी कामदारहरुविरुद्ध आइतबारदेखि देशव्यापी धरपकड अभियान सञ्चालन गर्ने जनाएको छ ।

दोषी आप्रवासी कामदार र रोजगारदाता दुवैलाई कडा कारबाही हुने जनाइएको छ । उसले रोजगारदाता र रोजगारीबारे विवरणसहित वैधानिक प्रक्रियामा दर्ता हुन सन् २०१६ फेब्रुअरी १५ देखि भनेको थियो ।

‘गैरकानुनी आप्रवासीहरुको संख्या कति छ भन्ने हामीलाई थाहा छैन । तर कानुनको परिपालना गर्दै गैरकानुनी आप्रवासीको खोजी गर्छौं’ अध्यागमन विभागका महानिर्देशक मुस्ताफिर अलिको भनाइ उद्धृत गर्दै स्थानीय न्युज पोर्टल ‘बरिता हरियान अनलाइन’ ले लेखेको छ, ‘उनीहरु दोषी देखिएमा अधिकतम ५० हजार रिंगिट जरिवाना र ५ वर्षसम्मको जेलसजाय वा दुवै सजाय वा ६ कोर्रासम्मको सजाय पनि हुनसक्छ ।’

यद्यपि गैरकानुनी कामदार स्वदेश फर्कन भने मलेसियाले आगामी अगस्टसम्मको समयावधि यसअघि नै तोकिसकेको छ । नेपाली दूतावासले पनि गैरकानुनी नेपालीहरुलाई उक्त अवधिभित्रै स्वदेश फिर्न आग्रह गर्दै आएको छ ।

मलेसियाली अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार धरपकड अभियान सुरु हुनु अगावै पनि कामदारहरु पक्राउ पर्दै आएका छन् । त्यस्ता कामदारविरुद्ध केही दिनयता भएका कारबाही अभियानमा ३० जनाभन्दा बढी नेपालीसहित आप्रवासी कामदारहरु पक्राउ परिसकेका खबरहरु सार्वजनिक भएका छन् ।

मलेसियाली समाचार संस्था ‘बर्नामा’ का अनुसार भिसा दुरुपयोग गरेको आरोपमा गत सोमबार ईपो पेराकको एकै कम्पनीमा कार्यरत २८ नेपालीसहित ९० आप्रवासी कामदार पक्राउ परेका छन् । कृषि कामदारको भिसामा रहेका उनीहरुलाई रोजगारदाता कम्पनीले निर्माण तथा उत्पादन क्षेत्रमा काम लगाएको थियो ।

धरपकड अभियानमा अध्यागमन विभाग, प्रहरी, स्थानीय काउन्सिललगायत सम्बद्ध अधिकारी समेत सहभागी हुने गरेका छन् । समाचारहरुअनुसार यस्तो अभियानको संयोजन अध्यागमन विभागका अधिकारीहरुले गर्नेछन् । गैरकाननुनी विदेशी कामदारको बढी जमघट हुनसक्ने स्थानहरु, कम्पनी एवं औद्योगिक क्षेत्रहरु तुलनात्मक रुपमा धरपकडको बढी निशानामा छन् ।

पक्राउ गरिएपछि त्यस्ता गैरकानुनी विदेशी कामदारलाई रहेका सम्बन्धित विदेशी कूटनीतिक नियोगहरुसित सहकार्य गरेर छिट्टै नै उनीहरुका देश फिर्ता पठाउने मलेसियाको तयारी छ । गैरकानुनी नेपाली पक्राउ परेपछि घर फिर्ता पठाउँदा दूतावासले नि:शुल्क यात्रा अनुमतिपत्र उपलब्ध गराउने गरेको छ । तर, घरफिर्ती टिकट भने कामदार स्वयंले व्यवस्था गर्नुपर्नेछ ।

मलेसिया नेपालीका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य हो । मलेसियालाई श्रमिक दिने स्रोत मुलुकमध्ये नेपाल इन्डोनेसियापछि दोस्रोमा पर्दछ । ५ लाखभन्दा बढी नेपाली विभिन्न रोजगारी क्षेत्रमा कार्यरत छन् । कुनै ठोस तथ्यांक नभए पनि अझैं कयौं हजारको संख्यामा नेपालीहरु अवैधानिक रहेका हुनसक्ने अनुमान गरिएको छ ।

मलेसियाले यसअघि सन् २०११ अक्टोबरदेखि नै आममाफी, वैधानिकता, घरफिर्तीलगायत विभिन्न शीर्षकमा अवसरयुक्त कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

-कान्तिपुर