मेसीको परीक्षा अाज

  • १६ असार २०७५, शनिबार
  • 1795 पटक पढिएको

रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा आजबाट अन्तिम १६ को खेलहरू हुँदैछन्।नकआउट चरणको पहिलो खेलमा शनिबार समूह सीको विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिना भिड्दैछन्।कजान एरिना रंगशालामा नेपाली समय अनुसार पौने ८ बजे हुने खेलमा दुवै टोली क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन्।नकआउट चरणको पहिलो खेलमै विश्वकपका दुई प्रमुख दाबेदार भिड्न लागेका हुन्।

विश्व फुटबलका दुई बलिया टोलीमध्ये एक टोली आज घर फर्कने निश्चित छ। विजेता टोली विश्वकप उपाधिको यात्रामा अगाडि बढ्नेछ। पछिल्लो समय मेसी र अर्जेन्टिनाको प्रदर्शनले धेरै नेपाली फ्यानलाई आज तनावमा राख्नेछ।

बहुप्रतिक्षित आजको खेलमा लियोनल मेसी र उनको सुधारिएको प्रदर्शन हेर्न हजारौं नेपालीसहित लाखौ विदेशी प्रतिक्षा गरेर बसेका छन्। तर, अर्जेन्टिनाले आगामी यात्रा तय गर्छ वा यहीबाट घर फर्कन्छ यसै भन्न सक्ने अवस्था छैन। विश्वकपको समूह चरणमा गरेको प्रदर्शनले अर्जेन्टिनाको आगामी यात्रा कठिन मोडमा आइपुगेको विश्लेषण गर्न सकिन्छ।

अझ विश्वकपको बलियो प्रतिद्वन्द्वी फ्रान्ससँग आज हुने भिडन्त उसका लागि फलामको च्यूरासरह हुने धेरैको आँकलन छ। कारण, अर्जेन्टिनाको पछिल्लो खस्किएको प्रदर्शन।

अर्जेन्टिनाले समूह चरण पार गर्ने क्रममा रूस विश्वकपमा डेब्यू गरेको आइसल्याण्डसँग १–१ गोलको बराबरी खेल्यो। दोस्रो खेलमा क्रोयशियासँग ३–० को लज्जास्पद पराजय बेहोर्‍यो। पूर्व उपविजेतासमेत रहेको अर्जेन्टिनाले अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्दै फ्रान्ससँगको भिडन्त पक्का गरेको हो।

नकआउट चरण प्रवेश गर्न अर्जेन्टिनालाई भाग्यले पनि राम्रै साथ दियो। फ्रान्सका बेन्जामिन मेन्डेले चोटका कारण आजको खेल गुमाउनेछन् त्यसको फाइदा अर्जेन्टिनाले लिन सक्छ। उनको ठाउँमा प्रशिक्षक डिडियर डेसच्याम्पले लुकास हर्नाल्डेजलाई उतार्नेछन्। अर्जेन्टिनी टोलीमा कुनै समस्या नभएको र पछिल्लो समय राम्रै पाठ सिकेको भएकाले कुनै समस्या छैन।

यी दुई टोली विश्वकपमा पहिलो पटक नकआउट चरणमा भिड्न लागेका हुन् । यसअघि दुवै टोली ११ पटक आमने सामने भइसकेका छन्। जसमा अर्जेन्टिना नै हाबी छ। अर्जेन्टिनाले ६ पटक जितेको छ भने फ्रान्सले २ पटकमात्रै जित्न सकेको छ। बाँकी तीन खेलहरू बराबरीमा टुंगिएका छन्।

यस्तै, ११ मध्ये ८ खेलमा अर्जेन्टिनाले फ्रान्सलाई आफ्नो पोस्टमा गोल गर्न समेत दिएको छैन। यता एक पटकको विश्व च्याम्पियन फ्रान्सले मेसीलाई रोक्ने हो भने टिममा व्यापक सुधार गर्नुपर्ने देखिएको छ। तर उसँग आक्रमणका लागि ग्रिजमनसँगै केलियन एमबाप्पे, आस्मन डेम्बेले, नेबिल फकिर र ओलिभियर जिरुडजस्ता बलिया र राम्रा खेलाडी छन् जसले अर्जेन्टिनी डिफेन्स तोड्न सक्छन्। यति मात्र होइन समूह सीको विजेताको हैसियतमा अन्तिम १६ मा पुगेको फ्रान्सको टोली युवा खेलाडीहरूले भरिएको छ। यो टोली कुनै पनि टोलीलाई हराउने सामर्थ्य भएको टोली हो।

समूह चरणमा पनि यो टोलीले निकै राम्रो प्रदर्शन गरेको थियो। समूह चरणका तीन खेलमा फ्रान्सले दुई टोलीलाई हराएको थियो भने अन्तिम खेलमा बराबरीको नतिजा हासिल गरेको थियो। यस्तोमा सात अंकका साथमा फ्रान्सले अन्तिम चरणमा स्थान बनाएको हो। फ्रान्सले समूह चरणमा आफ्नो सन्तुलित खेल प्रस्तुत गरेको थियो। ठूला भनिएका टोलीहरूको प्रदर्शन कमजोर रहेको अवस्थामा फ्रान्सले पनि समूहका कुनै पनि खेल हारेन। जसको कारण अन्तिम १६ को पहिलो खेलमा बलियो आत्मविश्वासका फ्रान्सको टोली मैदानमा उत्रिनेछ।

नकआउट चरणको सुरूमै बलियो प्रतिद्वन्द्वी पाएको फ्रान्सले यो पहिलो पटक होइन। उसले सन् २००६ मा पनि नकआउट चरणमा निकै कडा प्रतिस्पर्धा सामना गर्नुपरेको थियो फाइनलसम्म पुग्न । त्यतिबेला उसले स्पेन, ब्राजिल र पोर्चुगललाई हराएको थियो। यसलाई निरन्तरता दिनेमा उ ढुक्क छ। तर सन् १९७८ मा पनि अर्जेन्टिनाले समूह चरणमा अहिलेको जस्तै खेलेर इटालीविरुद्ध खेल गुमाए पनि उपाधि जित्न सफल भएको थियो।

पाँच पटक फिफा वर्ष खेलाडी भइसकेका मेसीको काँधमा आज अर्जेन्टिनालाई अघि बढाउने ठूलो चुनौती तेर्सिएको छ। सम्भवतः जीवनकै अन्तिम विश्वकप खेलिरहेका उनले अघिल्लो संस्करणमा अर्जेन्टिनालाई उपविजेता बनाउँदै गोल्डन बुट जितेका थिए। मेसीले नाइजेरिया विरूद्ध गोल गर्दै यो विश्वकपमा गोलको खाता खोलिसकेका छन्।

यसअघि भएको विश्वकपको नकआउटमा गोल गर्न नसकेका मेसीले त्यो रेकर्ड पनि ब्रेक गर्ने दाउमा हुनेछन्। डिएगो म्याराडोना र गाब्रिअल बाटिस्टापछि अर्जेन्टिनाका लागि लगातार तेस्रो पटक विश्वकप खेलिरहेका मेसी लगभग करियरको अन्तिममा अर्जेन्टिनाका लागि नव म्यारोडोना हुन चाहन्छन्। त्यसैले यसलाई विशेष बनाउने सोचमा उनी मैदान उत्रिनेछन्। आफ्नै जन्मदिनको अवसरमा उनले अर्जेन्टिनालाई विश्वकप जिताएर मात्र सन्यास लिने बताएका थिए।

पछिल्ला १३ विश्वकप खेल्दा अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको यो १२ औं पटक हो। तर फ्रान्सले चारपटक मात्र अन्तिम १६ मा स्थान बनाएको छ। सन् १९९८ पछि दोस्रो विश्वकपको उपाधि हासिल गर्ने योजनामा अघि बढिरहेको फ्रान्सलाई रोकेर अर्जेन्टिना चार वर्षअघि फाइनल खेलमा बेहोरेको हारलाई बिर्साउँदै तेस्रोपटक विश्वकप उपाधि हासिल गर्ने दाउमा रहेको छ। यस्तोमा शनिबारको खेलसँगै एकको सपना यहीँबाट समाप्त हुनेछ।

स्राेत सेतापाटी