जेल्तुङमा झोलुङ्गे पुल बनेपछि सिम्कोश बगरका बासिन्दामा खुसीयाली

  • १३ असार २०७५, बुधबार
  • सन्तोष गौतम
  • 2551 पटक पढिएको

बगर १३ असार । म्याग्दीको धवलागिरी गाउँपालीका ४ जेल्तुङ स्थित म्याग्दी नदीमाथी झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका छन् । झोलुङ्गे पुल सहयोग ईकाई (टिबीएसयु)को लट्ठा र बुल्डअप ग्रिप, नेपाल सरकार र गाउँपालीकाको आर्थिक तथा स्थानीयबासीको श्रमदानमा १०२ मिटर झोलुङ्गे पुल बनेपछि म्याग्दी खोला वारपार गर्न पुरै दिनको घुमाउरो बाटो पैदल हिड्नुपर्ने, जोखिम मोलेर तुईन र साँघु तर्नुपर्ने समस्याबाट मुक्ति पाएपछि खुसीयाली मनाएका हुन् ।

२०७४ साउनमा म्याग्दी नदीमा आएको बाढीले काठको झोलुङ्गे पुल बगाएपछि सिस्कोशका बासिन्दाले तुईनबाट खाद्यान्न, नुन तेल तारेर उपभोग गर्दै आएका थिए । गत बर्ष सिम्कोशको जंगलमा चरनका लागि बगरका बासिन्दाले लगेका गाईबस्तु पुल बनेपछि मात्रै गाउँमा ल्याएका छन् । ४४ लाख ७६ हजार १८८ रुपैयाको लागतमा निर्माण भएको पुलबाट ३७ घरधुरीका २२३ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद पुनले बताउनुभयो ।

गाउँपालीकाको पाँच लाख ५३ हजार ८०३, टिबीएसयुको तिन लाख ७४ हजार ३०४ रुपैया बराबरको लट्ठा र बुल्डअफ ग्रिप, सरकारको ३४ लाख ८२ हजार ५१० रुपैया अनुदान र समुदायको ९२ हजार २०१ रुपैया बराबरको श्रमदानमा पुल निर्माण भएको सचिव डिलबहादुर पुनले जानकारी दिनुभयो । २०७४ फागुन ८ गतदेखि निर्माण सुरु भएको पुलको मंगलबार उद्घाटन गर्नुहुदै धवलागिरी गाउँपालीकाका उपाध्यक्ष थमसरा पुनले भौगोलिक रुपमा बिकट सिम्कोस बगरका बासिन्दा र धौलागिरी चक्रिय पदमार्गको भ्रमणमा आउने पर्यटकको आवत जावतमा सहज बनाएको यो पुलबाट समुदायले खेर गैरहेको जमिनमा जडिवुटी खेती गरेर आयआर्जन गर्न सक्ने सम्भावना पनी भएको बताउनुभयो ।

अध्यक्ष पुनले संघीयता कार्यान्वयनसंगै दुर्गम गाउँबस्तीका योजनामा पनी पर्याप्त बजेट आउन थालेकाले त्यसलाई सदुपयोग गरेर विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । टिबिएसयुका प्र्राबिधिक अधिकृत श्रीधर भण्डारीले यो पुल स्थानीय तहले बनाएको सम्भवत नेपालकै पहिलो भएको बताउनुभयो । धवलागिरी गाउँपालीकाले पुल बनाएर स्थानीय तह पनी पुल निर्माणमा सक्षम भएको सन्देश प्रवाह गराउन सफल भएको बताउनुभयो । उपभोक्ता समितिका उपाध्यक्ष ज्योती थापाले पुल बनेपछि पुरै दिन हिड्नुपर्ने घुमाउरो बाटो एक घण्टामा छोटीएको बताउनुभयो ।


पुल निर्माणमा सामुदायीक परिचालन तथा प्राबिधिक सहयोग गरेको संस्था मिलन म्याग्दीकी प्राबिधिक बिष्णु पन्तले असार २० गते सम्पन्न गर्ने लक्ष्य भएपनि उपभोक्ताको सक्रियताका कारण एक महिना अघिनै काम सकिएको बताउनुभयो । कैलाश आधारभुत विद्यालयका शिक्षक खिमबहादुर बुढाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीयबासी जफते गुरुङले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो । पुल बनेको खुसीयालीमा बगर र सिम्कोशका बासिन्दाले नाचगान गरेर खुसीयाली मनाएका थिए ।

सन्तोष गौतम