कता जाँदै छ हाम्रो समाजको अर्थतन्त्र !

  • १२ असार २०७५, मंगलवार
  • अमृत सिर्पाली
  • 2870 पटक पढिएको

नेपाली अर्थतन्त्रमा कृषि र उद्योग क्षेत्रको प्रभाव घट्दो छ भने सेवा क्षेत्रको प्रभाव निरन्तर बढिरहेको छ । यसको अर्थ मानिसहरू कृषि पेशा निरन्तर रूपमा छोडिरहेका छन् भन्ने हो । तर, अहिले पनि नेपालको अर्थतन्त्रको प्रमुख आधार भने कृषिलाई नै मान्ने गरिन्छ । र, अब प्रश्न उठ्न थालेको छ, अर्थतन्त्रमा कृषि कहिलेसम्म? खासगरी, राज्यले कृषि क्षेत्रमा नवीनतम र आधुनिक योजना ल्याउन नसक्दा अर्थतन्त्रमा कृषिको योगदान घटिरहेको छ । पछिल्लो समय बजारदेखि गाउँसम्म कृषिजन्य बस्तुहरुको आयात हुने क्रम निकै बढी छ तर कृषिजन्य बस्तुको निर्यात न्युन छ ।

कृषिप्रधान मुलुकमै कृषिको मागलाई पुरा गर्न आयात गर्नुपर्ने बाध्यताले अब नेपालको अर्थतन्त्रको परिभाषा बदलिएको कुरामा कुनै शंका रहेन् । बढ्दो बैदेशिक रोजगारिको सीधा प्रभाव नेपालको अर्थतन्त्रमा परेको छ । खासगरि भन्नेहो भने अहिलेको नेपाली समाजको अर्थतन्त्र बैदेशिक रोजगारिमै निर्भर छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण र व्यवसायिकरण बनाउन नसक्दा नेपाल अहिले कृषिमा समेत छिमेकी मुलुकबाट आयात गर्नुपर्ने अबस्थामा पुगेको छ ।

परम्परागत कृषि पेशाबाट मात्रै आफ्ना पारिवारिक समस्या सुल्झाउन नसक्ने अवस्थाले युवाहरूलाई वैदेशिक रोजगारीतर्फ धकेलिरहेको छ । हिजोआज यसमा अरू कारण पनि थपिएका छन् । खेतीपाती छोडेपछि कहाँ जाने ? यो प्रश्नको नेपाली समाजमा सहज उत्तर छ । त्यो हो विदेश । तर, यो कहिलेसम्म ? अर्को प्रश्न उति नै बेला खडा भइदिन्छ । वैदेशिक रोजगारीले मात्र कति धान्ने ? हमीले हाम्रो जनशक्तिका लागि यहीँ किन केही नगर्ने ? यो महत्वपूर्ण सवाल हो । मुलुकको अर्थतन्त्र कृषिमा निर्भर छ भनीरहँदा भएभरको सबै युवा जनशक्तिलाई विदेश पठाउँदा मुलुकमा रेमिट्यान्समा निर्भर अर्थतन्त्रको विकास भैरहेको छ ।

यस्तो किसिमको अर्थतन्त्र नत दिगो हुन्छ नत भरपर्दो नै । आफ्नो मुलुकमा जन्मीयो, हुर्कियो, अध्ययन ग¥र्यो । मुलुकलाई योगदान गर्ने युवा अवस्थाका पुरै समय विदेशमा विताउँदा मुलुकले तत्काल रेमिट्यान्सबाट अर्थतन्त्रलाई जोगाउन सकेपनि दिर्घकालिन रुपमा निस्कृय जनशक्तिको मात्रै भार बोक्नुपर्ने तितो यथार्थलाई अब आत्मसाथ गर्न जरुरी छ । खासमा नेपाली समाजको गन्तव्य अब कतातिर हो ? भन्ने प्रश्न गर्ने समय आइसकेको छ । दक्ष शैक्षिक र प्राविधिक जनशक्ति अष्टे«ेलिया, क्यानडा, अमेरीका लगायतका मुलुकमा निर्यात भैरहेको छ भने कृषि र मजदुरीको क्षेत्रमा काम गर्न सक्षम जनशक्ति समेत दक्षिण कोरिया र खाडी मुलुकहरुमा जानुपर्ने बाध्यता छ ।

मुलुकमा कृषिको आधुनिकीकरण गर्न नसक्नु, अगुवा किसानहरूलाई प्रोत्साहन गर्न नसक्नुको दुस्परिणाम स्वरूप वैदेशिक रोजगारी फस्टाएको छ। जस्ले गर्दा दिनानुदिन नेपाली युवाहरू विदेशिने र आफ्नो गाउँ घरको जग्गा जमिन बाझो हुँदै गएको छ । केही छिटपुट रुपमा व्यवसायिक कृषि अंगोलेका बाहेक अहिलेको पुस्ताको कृषिमा आकर्षण नै देखिँदैन । अबको केही दशकपछि ग्रामीण खेतीयोग्य जमिन चौर र पाखोमा बदलिने खतरा बढ्दै गएको छ । अहिलेको पुस्ताको वैदेशिक रोजगारी र सेवामूलक काममा जोड देखिन्छ । यी दुवै पेशाबाट तत्काल आर्थिक लाभ सम्भव हुन्छ । र, त्यसबाट आम्दानी हुने रकमले शहरमा घरघडेरी जोड्ने र थोरै भए पनि सुविधामा बस्ने मनोविज्ञान विकास अहिलेको पुस्तामा भइरहेको छ । यसै कारणले गर्दा शहरको जमिनको मूल्य दिनानुदिन बढिरहेको छ भने ग्रामीण भेगको अब्बल जमिन मूल्यहिन बन्ने खतरामा छन् ।

फलेको धानको हिसाबमा जमिनको मूल्य निर्धारण हुने अवस्था छैन । खेतमा कति मुरी धान फल्छ भन्ने कुराले अर्थ राख्न छोडेको छ । आर्थिक उदारीकरण, भूमण्डलीकरण र सूचना तथा सञ्चार प्रविधिले अर्थतन्त्र र सामाजिक अवस्थामा व्यापक प्रभाव पारेका छन् । हामी विकासोन्मुख देशको सूचीमा छौँ तर हाम्रो पहुँच विकसित देशसँग छ र हाम्रा आवश्यकता पनि ती देशका मान्छेका जस्तै छन् । अमेरिकामा बस्ने र नेपालमा बस्नेले एकसाथ त्यहाँको फेसन, प्रविधि, चलचित्रमा पहुँच राख्छन् । भूमण्डलीकरणले हामीलाई यो सुविधा त दिएको छ, तर सँगसँगै आफैँ केही गर्ने र आफ्नै पौरखमा उन्नति गर्ने विषयलाई कमजोर समेत बनाएको छ । समाजमा, संस्कृतिमा र आर्थिक विषयमा पनि उत्तर आधुनिक अराजकता बढ्दै गएको छ ।

हामीले आफ्नो मौलिक आर्थिक मोडलको विकास गर्न जरुरी छ । रेमिट्यान्सको भरमा होइन, त्यसलाई यहाँ कसरी उपयोग गर्ने भन्ने योजना बनाउन नसक्ने हो भने यसले गम्भीर खतरा पैदा गर्ने निश्चित छ । आर्थिक रूपमा आफूलाई कमजोर ठान्दै जानु, यहाँको अर्थतन्त्रमा विश्वास गुम्न थाल्नु भनेको केही गर्ने हिम्मत गुमाउँदै जानु पनि हो । पछिल्लो सामाजिक अवस्थाले त्यो दिन धेरै टाढा देखाउँदैन । यस्तो मनोविज्ञान बाह्य रूपमा एकैपटक नदेखिए पनि बिस्तारै मानिसको दिमागमा अप्रत्येक्ष रुपमा असर गर्दै जानेछ। राज्यले समाजमा आर्थिक सकारात्मकता बढाउने र विश्वास दिलाउने योजना लैजान नसक्ने हो भने हाम्रो समाजको ओराली यात्रा निश्चित छ । आफ्ना कुरा छोड्दै जाने र अरूको नक्कल मात्रै गर्दै जाने प्रवृत्तिले मौलिकता हराउँदै गइरहेको छ ।

देशमा जति–जति राजनीतिक परिवर्तन हुँदै गयो, उति–उति नेपाली विदेशिने दर बढ्दै गयो। जनसंख्याको वृद्धिदर र विश्वव्यापीकरणको प्रभाव निश्चय नै यसमा परेको छ तर त्यसको प्रभावलाई सन्तुलनमा राख्न नसक्दा यस प्रकारको अवस्था आएको भने हामीले स्वीकार गर्नैपर्छ। हाम्रा सामाजिक, आर्थिक र जनसांख्यिक अवस्थाले पनि यसलाई प्रभाव पारेका छन्। नेपालको कृषि, पशुपालन, पर्यटन, जडीबुटी र जलस्रोतको समुचित विकास गरि नेपाललाई आफ्नो सम्भावना र क्षमता अनुकुलको अर्थतन्त्रमा अगाडी दोहोराउने लक्ष्यलाई राज्यका निकायहरुले पाइला चाल्न ढिला गर्नु हुँदैन् ।

 

अमृत सिर्पाली