ताकममा घरघरमा धारा (फोटो फिचर)

  • ९ असार २०७५, शनिबार
  • गोपाल आचार्य
  • 3098 पटक पढिएको

ताकम ९ असार । धौलागिरी गाउँपालीका ७ ताकममा कोतखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण भएपछि घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र भारतीय दुतावासको सहयोगमा ताकमका बासिन्दाले करिब दुई वर्ष लगाएर निजी धाराको सुबिधा सहितको खानेपानी आयोजना निर्माण गरेका हुन् ।

दुई करोड ६७ लाख रुपैयाको लागतमा निर्माण भएको आयोजनाबाट साविक ताकम गाविसको ३, ४, ५, ६ र ९ नम्बर वडाका ३३८ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो । काफलडाँडाका ३० घरलाई ९ वटा सार्वजनीक धारा र अन्य घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ ।

आयोजना निर्माणका लागि काठमाडौ स्थित भारतीय दुतावासले ६५ लाख ६७ हजार रुपैया मूल्य बराबरको पाईप र सिमेन्ट सहयोग गरेको थियो । उपभोक्ताले ९१ लाख रुपैया बराबरको श्रमदान गरेका छन् । प्रतिघर पाँच हजार रुपैयाका दरले ११ लाख ५४ हजार रुपैया उपभोक्ताबाट संकलन गरिएको थापाले बताउनुभयो ।

बाँकी रकम परियोजना मार्फत नेपाल सरकार, फिनल्याण्ड सरकार, जिल्ला समन्वय समिति र गाउँपालीकाले उपलब्ध गराएका छन् । वि.स २०७३ बैशाख १७ गते सम्झौता भएको आयोजना निर्माण सम्पन्न भएपछि शुक्रबार परियोजनाको टोलीले स्थलगत अध्ययन र सार्वजनीक परिक्षण गरेको छ ।

मालिका गाउँपालीकाको जुक्जा र धौलागिरीको सिमानामा पर्ने कोटखोला, देउबुजा र हटीमुलको मुहानबाट प्रतिसेकेण्ड ४ लिटरका दरले पानी आपुर्ती गरीएको छ । आयोजनाको दिगो सञ्चालन र उपभोक्ताको सुबिधाका लागि मिटर सहितको निजी धारा जडान गरीएको हो ।

१३ वटा रिजर्भ टंकीबाट खानेपानी वितरण गरिएको छ । यसअघि ताकममा माग अनुसार आपूर्ती नहुँदा हाल खानेपानीको समस्या रहेको थियो । घरघरमा खानेपानी आउन थालेपछि धाराबाट गाग्री, ग्यालीन, बाल्टीबाट खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको छ । समयको बचत भएको छ । सरसफाईमा सहयोग पुगेको छ ।

तस्विर गोपाल आचार्य र थरेन्द्र पौडेल

गोपाल आचार्य