बेनीमा सञ्चालित औषधी पसलहरुको अनुगमन

  • ७ असार २०७५, बिहीबार
  • प्रताब बानियाँ
  • 3037 पटक पढिएको

म्याग्दी, ७ असार । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न प्रकृतिका औषधी पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका आयुर्वेदिक, डेन्टलसहित कुल १४ ओटा औषधी पसलहरुमा अनुगमन गरिएको हो । लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्याको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्तर्गत औषधी पसलको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अनुगमन कार्यक्रममा २ ओटा आयुर्वेदिक, एकवटा डेन्टल र ११ ओटा अन्य औषधी पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ६ ओटा औषधी पसलमा मनोद्धिपक औषधी राखेको पाइएको छ । ती पसलहरुमा साधारण औषधी र मनोद्धिपक औषधी छुट्टाछुट्टै राखेको भेटिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले बताइन् । औषधी बिक्रेताहरुले डाक्टरको प्रेसक्रिप्सनमा उक्त औषधी कन्फम गरेर मात्रै बिक्री वितरण गर्ने गरेको जानकारी दिएको उनले बताएकी छिन् । केही प्रयोगकर्ताले भने डाक्टरको प्रेसक्रिप्सनमा आफूले औषधीको नाम थप गरेर किन्ने प्रयास गर्ने गरेको समेत पाइएको छ । प्रयोगकर्ताहरु औषधी सेवनका लागि सिरिन्ज खरिद गर्न क्लिनीकहरुमा पुग्ने गरेको बताइएको छ ।

अनुगमन गरिएका सबै पसलहरु दर्ता र नवीकरण गरेको तथा म्याद गुज्रिएका औषधीहरुलाई छुट्टै व्यवस्थापन गरिएको पाइएको सहायक प्रजिअ अर्यालको भनाई छ । निलगिरी मेडिसिन सेन्टर, न्यु युगल फार्मेसी, पाण्डे मेडिकल हल, म्याग्दी डेन्टल होम, प्रयास मेडिकल हल, म्याग्दी सञ्जीवनी हस्पिटल प्रालि, संगिता आयुर्वेद फर्मा, पपुलर आयुर्वेदिक फार्मेसी, डिडी मेडिकल हल, नेशनल ड्रग सेन्टर, विश्वास मेडिकल हल, सतिश मेडिकल हल, साझा औषधी पसल र आचार्य मेडिकल हलमा अनुगमन गरिएको थियो ।

अनुगमनमा प्रहरी, प्रशासन, जनस्वास्थ्य, सामुदायिक सेवा केन्द्र, म्याग्दी उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च म्याग्दी र पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । म्याग्दीमा प्रहरी, प्रशासन र सामुदायिक सेवा केन्द्रद्वारा लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवससम्बन्धी कार्यक्रमको आयोजना गरेका छन् ।

प्रताब बानियाँ