नदीजन्य बस्तुको चोरी निकासीमा प्रयोग भएको सवारी साधन प्रहरी नियन्त्रणमा

  • ७ असार २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 2003 पटक पढिएको

म्याग्दी ७ असार । म्याग्दीको मालीका गाउँपालीका ६ मा पर्ने रातोढुङ्गा तोलावाङ क्षेत्रमा म्याग्दी नदीको किनारबाट नदीजन्य बस्तुको अबैध रुपमा उत्खनन् र चोरी निकासी भएको छ । स्थानीय केही व्यक्तिहरुले एक्साभेटरको प्रयोग गरेर बालुवा, ढुङ्गा र गिट्टी उत्खनन तथा चोरी निकासी गरेको भेटिएको प्रहरीले जनाएको छ । अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन् तथा चोरी निकासीमा प्रयोग भएका उपकरण र सवारी साधनलाई बिहीबार नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले जानकारी दिनुभयो ।

नदी किनारमा बालुवा झिक्न प्रयोग भएको ग १ क २४६८ नम्बरको एक्साभेटर र ढुवानी गर्न लागिएको बालुवा सहित ग १ त ५२३३, ग १ त २८०७ र ध १ त ३२४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रनाउ बुढाले बताउनुभयो ।

चालु आर्थिक वर्षसम्म नदीजन्य बस्तुको उत्खनन् र निकासीका लागि जिल्ला समन्वय समितिबाट अनुमती लिनुपर्ने नितीगत व्यवस्था छ । असार, साउन र भदौ महिनामा सरकारलेनै नदीजन्य बस्तुको उत्खनन्मा प्रतिबन्ध लगाएको छ ।

तोलावाङ रातोढुङ्गा क्षेत्रमा चालु आर्थिक वर्षका लागि नदीजन्य बस्तुको उत्खनन्का लागि ठेक्का नलागेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । नियन्त्रणमा लिइएका सवारी साधनलाई जरीवाना र जफत भएको बालुवा लिलामीबाट बिक्री गर्नुपर्ने व्यवस्था छ । नदीजन्य बस्तुको उत्खनन्मा संलग्नले दुखु खोलाको मोटरेबल पुल र रातोढुङ्गा सब स्टेशनको निर्माण कार्यलाई सहज बनाउन स्थानीय स्तरमै बालुवा उत्खनन् गरेको दावी गरेका छन् ।

यसअघि बेनी नगरपालीका १ आनन्दबगरमा स्थानीय सभेनस्टार युवा कल्वले बस्ती संरक्षण र खेलमैदान विस्तारको बाहनामा अबैध रुपमा उत्खनन गरेको बालुवा जफत गरेर नगरपालीका मार्फत लिलामी प्रक्रियामा लगीएको छ ।

सन्तोष गौतम