मन्त्री थापाद्धारा वौद्धीक अपाङ्ग स्रोत कक्षाको छात्रावास भवन उद्घाटन

  • ७ असार २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 3726 पटक पढिएको

बेनी ७ असार । बेनी नगरपालीका ५ बगुवाखोला स्थित बालजागृती आधारभुत विद्यालयमा निर्माण भएको वौद्धीक अपाङ्ग स्रोत कक्षाको छात्रावास भवनको बिहीबार महिला, बालबालीका तथा समाजकल्याण मन्त्री थममाया थापाले उद्घाटन गर्नुभयो । पलान ईन्टरनेशनल नेपालको ५६ लाख ३२ हजार ३३४ रुपैया र अपाङग संघ म्याग्दीको ६० हजार रुपैया सहयोगमा निर्माण भएको भान्छाकोठा र शौचालय सहितको चार कोठे भवनको उद्घाटन गर्दै मन्त्री थापाले भौतिक संरचनालाई अपाङ्ग मैत्री बनाउनुपर्ने नितीगत ब्यवस्था कार्यान्वयनमा कडाई गरिएको बताउनुभयो ।

वि.स २०६८ देखि सञ्चालीत स्रोत कक्षामा १२ जना छात्रा सहित ३० जना वौद्धीक अपाङगता भएका बालबालीका अध्ययनरत छन् । सरकारी संरचना अपाङ्ग मैत्री बनाउनुपर्ने नितीगत ब्यवस्था कडाईका साथ कार्यान्वयन गर्न भौतिक योजना तथा यातायात र शिक्षा मन्त्रालय मार्फत पहल गरिएको मन्त्री थापाले बताउनुभयो । उहाँले महिला, बालबालीका, जेष्ठ नागरीक, अपाङ्गहरुको लागि भएको संबैधानीक ब्यवस्थाको कार्यान्वयनमा प्राथमिकता दिने बताउनुभयो ।

राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संस्थाले गर्ने गतिबिधीलाई पारदर्शी, प्रभावकारी र उपलब्धीमुलक बनाउन तिनहरुलाई बर्गीकरण, अनुगमन, नियमन र कारबाहीका लागि उच्च स्तरीय समिति गठन गर्न लागीएको मन्त्री थापाले बताउनुभयो । राम्रो काम गर्ने एनजिओलाई प्रर्वद्धन, सामान्यलाई नियमन तथा अनुगमन र झोले, कोठेलाई कारबाही गरीने स्पष्ट पार्नुभयो ।

अपाङग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता, उपाध्यक्ष गणेश सुवेदीको स्वागत र बालजागृती आधारभुत विद्यालयका प्रअ भक्त कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ लिलाधर अधिकारी, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, अपांग संघका सचिव सुरेन्द्र केसी, वौद्धीक अपाङग संघका अध्यक्ष यामबहादुर बानिया, भवन निर्माण समितिका अध्यक्ष तेजबहादुर बानिया, विद्यालय व्यवस्थापन समितिका सदस्य टेकबहादुर कार्की लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैबीच सोही कार्यक्रमको अवसरमा राष्ट्रिय अपाङ्ग पुनस्थापना समाजले अपाङ र अशक्त नागरीकहरुलाई सहायता सामाग्री वितरण गरेको छ । मन्त्री थापा मार्फत ३५ जनालाई ह्वील चियर, ५ जनालाई एल्बो कार्चेज, ५ जोडी बैशाखी, ५ वटा वाकीङ स्टिक र १० वटा सेतो छडी वितरण गरिएको थियो । अपाङगता भएका नागरीकहरुको दैनिक जिवनयापनमा सहजताका लागि सामाग्री वितरण गरिएको समाजका अध्यक्ष राकेश हमालले बताउनुभयो । समाजले बुधबार पोखरामा ४० जनालाई ह्वील चियर, ७ वटा बैशाखी, १० वटा सेतो छडी वितरण गरेको थियो ।

सन्तोष गौतम