मातृ शिशु मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गरिने

  • ७ असार २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 2087 पटक पढिएको

दरवाङ, ७ असार । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापाले दुर्गम र बिकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशूको उपचार सेवामा पहुँच बढाएर मातृ शिशू मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।

म्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा बिहीबार समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको निशूल्क स्वास्थ्य शिवीरको उद्घाटन गर्नुहुदै मन्त्री थापाले अप्ठ्यारोमा परेका दुर्गम, बिकट क्षेत्रका गरिब, विपन्न सुत्केरी, गर्भवती र नवजात शिशूलाई हेलीकप्टरबाट उद्दार गरेर तत्कालै अस्पताल पुर्‍याउन एयर एम्बुलेन्स सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो ।

राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तरगत एयर एम्बुलेन्स सञ्चालन गर्न आगामी आर्थिक वर्षको लागि मन्त्रालयले २९ करोड ५७ लाख रुपैया बजेट बिनियोजन गरिएको मन्त्री थापाले जानकारी दिनुभयो । भौगोलिक बिकटता र नजिकै स्वास्थ्य संस्था नभएका कारणले गर्भवती, सुत्केरी अवस्थामा ज्यान गुमाउनुपर्ने समस्या न्युनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो ।

मन्त्रि थापाले महिलाहरुको स्वास्थ्य, शिक्षा, आयआर्जन र रोजगारीमा पहुँच बृद्धी गरी जिवनस्तर सुधार, आर्थिक रुपान्तरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । एक दिने शिवीरमा बालरोग बिशेषज्ञ नवराज सुवेदी, स्त्रीरोग बिशेषज्ञ सरिता गुरुङ, चिकित्सक रुपक श्रेष्ठ, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत कृष्ण कडेल र तिलक गौतमले सेवा दिनुहुने जनाइएको छ ।

शुक्रबार अन्नपूर्ण गाउँपालीकाको पोखरेबगर र शनिबार बेनी अस्पतालमा पहिचान हुने शल्यक्रिया गर्नुपर्ने बिरामीलाई थप उपचारको व्यवस्था मिलाइने कोषका अध्यक्ष हुमबहादुर बरुवालले जानकारी दिनुभयो । दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रकी नर्स याममती रोकाको सचालन र मालीका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा चिकित्सक नवराज सुवेदीले शिवीरको सेवाको बारेमा जानकारी दिनुभएको थियो ।

मालीका, मंगला र धौलागिरी गाउँपालीकाका सर्वसाधारणलाई लक्षित गरेर शिवीर सञ्चालन गरिएको हो ।

सन्तोष गौतम