प्रशारण लाईनको मुआब्जा न्यायोचित नभएको भन्दै स्थानीय आन्दोलित

  • ६ असार २०७५, बुधबार
  • 1785 पटक पढिएको

म्याग्दी, ६ असार । म्याग्दीमा निर्माण हुन लागेको १३२ केभीए डाँडाखेत–राहुघाट प्रशारण लाइनको सबस्टेशन निर्माणका लागि अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जा न्यायोचित नभएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।जिल्लाकोे पश्चिम भेगमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जडान गर्न नेपाल विद्युत प्राधिकरणले रघुगंगा गाउँपालिका–३ पिप्लेको अम्बाङ क्षेत्रमा सबस्टेशन निर्माणको कार्य अघि बढाएको छ । सबस्टेशन निर्माणका लागि ९० रोपनी जग्गा अधिग्रहण गर्ने सरकारी तयारी छ । तर मुआब्जा निर्धारण समितिले अव्यवहारिक रुपमा मुआब्जा निर्धारण गरेको भन्दै स्थानीयबासी आन्दोलीत बनेका छन् ।


प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले विभिन्न चरणको छलफल र अनुगमनबाट मूख्य सडक पर्नेलाई प्रतिरोपनी ५ लाख र सडक नपर्नेलाई प्रतिरोपनी ४ लाख रुपैयाँ मूल्य निर्धारण गरेको थियो । तर, स्थानीयले चलनचल्तीको दररेट र वि.स २०६७ सालमा रघुगंगा हाइड्रोले सोही क्षेत्रमै दिएको मूल्य भन्दा पनि न्यून रकम निर्धारण गरेपछि आन्दोलित बनेको स्थानीयबासी कृष्णबहादुर मल्लले बताउनुभयो ।

प्रशासन निश्चित समूह’ को घेरामा परेर अव्यवहारिक निर्णय गरेको उनीहरुको आरोप छ । स्थानीयले मुआब्जा न्यायोचित नभएको बिषयमा प्रजिअलाई ध्यानकर्षण गराउँदा समेत उचित जबाफ नपाएको आयोजना प्रभावित क्षेत्र संघर्ष समितिका सचिब अशोक कुमार शाहीले जानकारी दिनुभयो।

निर्धारण समितिले डाँडाखेत–राहुघाट प्रशारण लाइन र टावर निर्माणका लागि सडकभित्र पर्नेलाई ८ लाख, सडक छोएकोलाई ८ लाख र राजमार्गले छोएकोलाई प्रतिरोपनी १३ लाख रुपैयाँ मुआब्जा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । प्रजिअ अधिकारीले उपसमिति मार्फत मूल्यांकन भइ आएको सिफारिशलाई समितिले निर्णय गरिएको जानकारी दिनुभयो ।सबस्टेशन बनाउन लागिएको ठाउँमा प्रयोगबिहिन जग्गालाई दिईएको मुआब्जा न्योचित नै रहेको उल्लेख गर्दै प्रजिअ अधिकारीले निर्धारण समितिले गरेको निर्णयमा चित्त नबुझे माथिल्लो निकाय गृहमन्त्रालयमा पुनरावेदन गर्न पाउने अधिकार रहेको बताउनुभयो ।

सहायक प्रजिअ संयोजक रहेको उपसमितिमा मालपोत, नापी कार्यालयका प्रतिनिधी सहित रघुगंगा गाउँपालिका प्रमुख भबबहादुर भण्डारी र पिप्लेका वडाअध्यक्ष जीवन मल्ल समेत सदस्य छन् । मुआब्जाको मूल्य न्यून निर्धारण गरेपछि प्रमुख भण्डारी र वडाअध्यक्ष मल्लले भने असहमति जनाउँदै हस्ताक्षर गरेका छैनन् ।
स्थानीय जनप्रतिनिधिले कम्तिमा चलनचल्तीको रेट र पहिलाको नजिरलाई हेरेर मुआब्जा दिनुपर्ने तर्क गरेका छन् । प्राधिकरणले १३२ केभीए प्रशारण लाइनलाई पिप्लेमा निर्माण हुने सबस्टेशन मार्फत दाना–खुर्कोट २२० केभीए प्रशारणमा जडान गर्ने गरि काम अघि बढाएको जनाएको छ ।