तातोपानीलाई पर्यटकीय स्थल बनाउन पहल

  • ६ असार २०७५, बुधबार
  • सन्तोष गौतम
  • 2812 पटक पढिएको

म्याग्दी, ३० जेठ । प्रशस्त पर्यटकीय सम्भावना भएर पनी संरक्षण, व्यवस्थापन, पूर्वाधार, प्रचारप्रसारको अभावमा ओझेलमा परेको अन्नपूर्ण गाउँपालीका १ दोवाको सेकारकुमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल थालीएको छ ।

दोवाका जनप्रतिनिधि र बासिन्दाले कालीगण्डकी नदीको दायाँ किनार, पहाडको फेदीमा बेवारीसे अवस्थामा रहेको प्राकृतिक तातोपानीको मुहानलाई संरक्षण र व्यवस्थान गरेर पर्यटक भित्र्याउने योजना बनाएका छन् ।

बेनी–जोमसोम सडकको तिप्ल्याङ खण्डदेखि तातोपानीको मुहानसम्म सडक र पदमार्ग पु¥याउने, पोखरी बनाएर, मुहानको संरक्षण र ब्यवस्थित गर्ने, शौचालय, प्रतिक्षालय बनाउन आगामी आर्थिक वर्षको योजनामा प्राथमिकता दिइएको वडा अध्यक्ष दिलीपकुमार गर्बुजाले बताए ।

अध्यक्ष गर्बुजाले तातोपानी कुण्डलाई व्यवस्थित गर्न वडाको गौरवको योजना मानेर दश लाख रुपैया बजेट प्रस्ताव गरिएको जानकारी दिए । म्याग्दी हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको महभिर तिप्ल्याङ खण्डको नजिकै पर्ने सेकारकुमा पाँच वटा प्राकृतिक तातोपानीका मुहान छन् ।

५० डिग्री सेल्सीयस भन्दा बढी तातोपानी निस्कने मुहानलाई स्थानीयबासीले सामान्य पोखरी बनाएर स्नान गर्दै आएका छन् । मुहानसम्म पुग्ने पदमार्ग, सडक र आवासको सुबिधा छैन् । तिप्ल्याङ र महभिर गाउँदेखि पन्ध्र मिनेट पैदल हिडेपछी पुगीने तातोपानीको मुहान कालीगण्डकी नदीको कटानको जोखिममा छ ।

मुहानको तातोपानीलाई संकलन गरी स्नान गृह सञ्चालन गर्ने योजना रहेको वडा अध्यक्ष गर्बुजाले बताए । बेनी जोमसोम सडकबाट मुहान रहेको ठाउँलाई जोड्ने झोलुङ्गे पुल निर्माणको लागि पनी पहल गरिएको छ ।

तातोपानीका मुहानलाई व्यवस्थित र प्रचारप्रसार गर्न सकेमा मुस्ताङ जाने आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई भित्र्याएर गाउँपालीकामा आम्दानीको स्रोत बढाउन सकिने सम्भावना छ ।

सन्तोष गौतम