किसानलाई औजार हस्तान्तरण

  • ६ असार २०७५, बुधबार
  • 2366 पटक पढिएको

म्याग्दी, ५ असार । अन्नपूर्ण गाउँपालिका पशु सेवा शाखाले कालीगण्डकी भेडापालन स्रोत विकास केन्द्रमा आबद्ध किसानहरुलाई अतिआवश्कीय सामागी वितरण गरेको छ । मंगलबार गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले किसानहरुलाई त्रिपाल, जुकाको औषधी र विभिन्न किसिमका मेसिनहरु उपलब्ध गराएका हुन् ।

गाउँपालिका पशु सेवा शाखाका संयोजक सतेन्द्रकुमार रायले ५ थान खसी पार्ने मेसिन, २५ बाह्य परजीवि नियन्त्रण इन्जेक्सन, ५० थान सिरिन्ज, २४ थान चर्मिन महमल, १० थान ड्रेन्चीङ्ग गल, २५ थान सोलार टुकी, ३० थान त्रिपाल र २० ग्यालिन जुकाको औषधी वितरण गरिएको जानकारी दिए । कालीगण्डकी क्षेत्रको नारच्याङ्ग, हिस्तान, भुरुङतातोपानी, शिख घार क्षेत्रका किसानहरु व्यवसायी रुपमा भेडाबाख्रापालन पेशमा आबद्ध छन् ।

गाउँपालिका अध्यक्ष क्या. पुनले किसानहरुलाई औजार वितरण गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने जानकारी दिए । कालीगण्डकी क्षेत्रका किसानहरु भेडाबाख्राका साथै चौरीपालन व्यवसायमा पनि आबद्ध हुदै गएका छन् । आलु, सुन्तला, सिमी उत्पादनको समते पकेट क्षेत्र मानिने अन्नपूर्णको हिस्तान, राम्चे लगायतका गाउँलाई आलु घोषणाको तयारी समेत भइरहेको कृषि सेवा शाखा प्रमुख गोपाल भट्टराइले जानकारी दिए । बर्षा सिजनलाई लक्षित गरि प्राप्त औषधी र सामाग्रीले किसानहरुलाई राहत पुग्ने कालीगण्डकी भेडापालन स्रोत विकास केन्द्रका अध्यक्ष मेख बहादुर गर्बुजाले जानकारी दिए ।