वस्तीस्तरबाट योजना छनोट गर्दै वडा कार्यालय

  • ६ असार २०७५, बुधबार
  • प्रताप बानियाँ
  • 2535 पटक पढिएको

म्याग्दी, ५ असार । एक नगरपालिका र पाँचओटा गाउँपालिका रहेको म्याग्दी जिल्लामा आगामी आर्थिक वर्षका लागि वस्तीस्तरबाट योजना छनौटको क्रम सुरु भएको छ । आउँदो आर्थिक वर्ष २०७५÷७६ मा स्थानीय तहको विभिन्न वडामा सञ्चालन गर्ने कार्यक्रमका लागि टोल र वस्तीस्तरबाटै योजना छनोट गर्न लागिएको हो ।

यसैक्रममा मङ्गलबार म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा वडास्तरीय योजना छनौट तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पुलाचौरको विभिन्न टोल तथा बस्तीस्तरमा सङ्कलन गरिएको योजनाहरुको प्राथमिकीकरण तोकिएको छ । वस्तीस्तरबाट १११, संघसंस्था १६ र वडाबाट गौरवका योजना १० ओटासहित कुल १३७ ओटा योजनाहरु सङ्कलन गरिएको वडा कार्यालयले जनाएको छ ।

वस्तीस्तरबाट खानेपानी, सामुदायिक भवन, विद्यालय, मोटरबाटो, खेलमैदान, मठमन्दिर निर्माण तथा मर्मतसँग सम्बन्धित विभिन्न किसिमका योजनाहरु सङ्कलन गरिएको वडा अध्यक्ष लक्ष्मण बानियाँले जानकारी दिए । टोल र वस्तीस्तरबाट अधिकांश पूर्वाधार निर्माणका योजनाहरु माग भई आएको उनले बताए । गाउँ टोलबाट आएका योजनाहरु सबै जायज भएकाले आवश्यकताको आधारमा प्राथमिकीकरण तोकेर माथिल्लो निकायमा सिफारिस गरिने अध्यक्ष बानियाँको भनाई छ ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले योजना बनाउने क्रममा स्थानीयस्तरमा आवश्यकताको आधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले चालु वर्षमा बेनपा ५ पुलाचौरमा मात्रै एक करोड बढी बजेट रहेको बताउँदै स्पष्ट रुपमा देखिने गरी बजेटलाई विकास निर्माणमा खर्च गर्नुपर्ने बताए ।

नगर उपप्रमुख सन्जु बरुवालले विकास निर्माणका साथै धार्मिक तथा पर्यटकीय महत्व बोकेको पुलाचौर क्षेत्रमा पर्यटन आकर्षणका योजनाहरु सञ्चालन गर्नुपर्ने बताइन् ।

कार्यक्रममा साविक पुलाचौर गाविसका पूर्व अध्यक्ष चन्द्रबहादुर पाईजा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक भोजबहादुर कार्की, नेपाली कांग्रेसका यामबहादुर बानियाँ, राप्रपाका दलकेश्वर बानियाँ, बेनपाका पशु चिकित्सक जीवनप्रसाद आचार्य, रेडक्रस पुलाचौर उपशाखाका सभापति यामबहादुर बानियाँ र पौलस्त्य माविका प्रधानाध्यापक प्रेमबहादुर बानियाँले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा सदस्य रामप्रसाद सुवेदीले वडा कार्यालयबाट प्राथमिकीकरण गरिएका योजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रम वडा अध्यक्ष लक्ष्मण बानियाँको अध्यक्षता, वडा सचिव कृष्णबहादुर बानियाँको सञ्चालन र सदस्य यामकुमारी पाईजाको स्वागतमा सम्पन्न भएको थियो ।

प्रताप बानियाँ