ऋषीराम रानाभाट पुरस्कार थकालीलाई

  • ५ असार २०७५, मंगलवार
  • 2365 पटक पढिएको

पोखरा ५ असार । ऋषीराम रानाभाट स्मृति पुरस्कार मुस्ताङका साहित्यकार सुशील थकाली ‘अनुरागी’लाई प्रदान गरिने भएको छ । २०४५ सालमा घरपझोङ १, छैरो मुस्ताङमा जन्मेका थकालीका अनुराग गजलसङ्ग्रह (२०६७), सचेतना मुक्तकसङ्ग्रह (२०६८) र हृदयको क्यानभाष मुक्तकसङ्ग्रह (२०७३) कृति प्रकाशन भइसकेका छन् । एक दशकदेखि साहित्य साधनामा लागेका थकाली भूपी स्मृति थाक पुस्तकालय मुस्ताङ, पर्वत साहित्य संगम पर्वत, पौलस्त्य साहित्य समाज बेनीको सदस्य पदमा रहेर विभिन्न साहित्यिक गतिविधिमा क्रियाशील छन् ।

यस्तै, थकाली कालीको सुसेली, नवमाधुरी र सगुन साहित्यिक पत्रिका कुश्मा,  अाेमकुमारी शान्ति कोश बेनीको आजीवन सदस्यसमेत रहेका छन् । यो मात्रै होइन, थकालीले सुवासना साहित्य सदन बेनीको संस्थापक अध्यक्ष, सुवासना साहित्यिक पत्रिकाको प्रधानसम्पादक, नेपाली लेखक संघ बेनीको संस्थापक कोषाध्यक्ष, म्याग्दी साहित्य सञ्चार बेनीको उपाध्यक्ष, हिमभञ्ज्याङ साहित्य संगमलगायतका संस्थामा आवद्ध रहेर साहित्यिक उन्नयनका लागि क्रियाशीलता देखाउँदै आएका छन् ।

साहित्य सँगसँगै समाजसेवामा पनि क्रियाशील थकाली म्याग्दी जेसीज बेनीको सदस्य, उपाध्यक्ष, शाखा सम्पादक, महासचिव, कार्यकारिणी उपाध्यक्ष हुँदै अध्यक्षको सल्लाहकारसमेत भएर समाजसेवाका क्षेत्रमा क्रियाशील छन् । उनको योगदानको कदरस्वरुप थकाली कोबाङ साहित्य सम्मान मुस्ताङ, म्याग्दी साहित्य सञ्चारसाहित्य सम्मान बेनी, जेसीज सम्मान र पश्चिमाञ्चल क्षेत्रीय मुक्तक पुरस्कार २०६८ बाट पुरस्कृत भइसकेका छन् ।

क्षेत्रीयस्तरमा वितरण गरिदै आएको पुरस्कारको राशी पाँच हजार पाँच रहेको छ । ठूलाडिही–६, स्याङ्जामा जन्मेका ऋषीराम रानाभाटको स्मृतिमा उहाँको परिवारद्वारा स्थापित ५० हजार राशिको अक्षयकोषको ब्याजबाट उक्त पुरस्कार प्रदान गरिदै आएको छ ।

उक्त पुरस्कारबाट दुई हरफ कविता कृतिका लागि दुर्गाबहादुर शाह बाबा, स्याङ्जाका साहित्यकार मिलन समीर, पर्वतकी साहित्यिक पत्रकार सरस्वती शर्मा जिज्ञासु, कास्कीकी लोकगायिका अम्बिका भण्डारी, लमजुङ्का संगीतकार एनजे सागर शाह र गुल्मीका गीतकार कृष्ण अन्ज्ञान ज्ञवाली यस अगाडि सम्मानित भइसकेका छन् । असफल गौतमको संरक्षकत्व, सङ्घर्षमा कलम पोखराको व्यवस्थापनमा वितरण हुँदै आएको उक्त पुरस्कार कोषको बैठकले देशको संघीय संरचना अनुसार पुरस्कारलाई प्रदेश ४ र ५ स्तरिय बनाएर विनियमावली संशोधन र कोषको वृद्धिका लागि पहल गरेको संस्थाका अध्यक्ष कृष्ण रानाभाट ‘सारथि’ले जानकारी दिए ।