विविध कार्यक्रमसहित जनकल्याण माविले ६१औं वार्षिकोत्सव मनायो (फोटोफिचर)

  • ५ असार २०७५, मंगलवार
  • प्रताप बानियाँ
  • 2023 पटक पढिएको

म्याग्दी, ४ असार । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयले सोमबार ६१औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा शिक्षक तथा कर्मचारी सम्मान, सांस्कृतिक प्रस्तुतीसहित विविध कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालयले ३९ वर्ष लामो शिक्षण सेवा गरेका विद्यालयका शिक्षक टिकाराम पौडेललाई दिर्घसेवी सम्मान, लेखा विषयमा उत्कृष्ट अङ्क आएको भन्दै शिक्षक फुलमाया श्रेष्ठ, १९ वर्षसम्म कार्यालय सहयोगीका रुपमा सेवा गरेका रविप्रसाद रिजाल र पोखरामा सम्पन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने विद्यार्थी मन्जु बानियाँलाई सम्मान गरेको छ ।

त्यस्तै पुलाचौर स्थायी घरभई हाल हङकङ निवासी बमबहादुर विश्वकर्मा र उनकी श्रीमती रुपकुमारी विश्वकर्माले विद्यालयमा ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिदिएका छन् । कार्यक्रममा चन्ददाता विश्वकर्मालाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरुले चारैजना व्यक्तित्वहरुलाई अबिर, माला र खादा लगाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले विद्यार्थी र अभिभावकको चाहना अनुसार शिक्षा प्रदान गर्नुपर्ने बताएका छन् । धौलागिरि मावि सिङ्गा स्रोतकेन्द्रका स्रोतव्यक्ति केशवप्रसाद रेग्मीले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने भन्दै सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइराख्नका लागि रचनात्मक कार्यक्रमहरु गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका भूतपूर्व अध्यक्षद्वय माधवप्रसाद रेग्मी, चन्द्रबहादुर पाईजा, सम्मानित व्यक्तित्व बमबहादुर विश्वकर्मा, टिकाराम पौडेल, फुलमाया श्रेष्ठ, पूर्व विव्यस सदस्य शान्ति शर्मा र विद्यार्थी सरिता बानियाँले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयका प्रअ कमलप्रसाद पौडेलले विद्यालयको विगत तथा वर्तमान अवस्था र भावी योजनासहितको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बेनपा–५ का वडा अध्यक्ष लक्ष्मण बानियाँको विशिष्ट आतिथ्य रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, शिक्षक रेशम बानियाँको स्वागत र शान्ति शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत, नृत्यु र हाँस्यव्यङ्ग्य प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

प्रताप बानियाँ