रुइसे र दर्मीजामा औद्योगीक ग्राम स्थापना गरिने

  • ४ असार २०७५, सोमबार
  • 2715 पटक पढिएको

म्याग्दी ४ असार । रघुगंगा गाउँपालीकाले रुईसे र दर्मीजामा औद्योगीक ग्राम स्थापनाका लागि सिफारीस गरेको छ । रघुगंगाको २ नम्बर वडा भगवतीमा पर्ने रुईसेमा औद्योगीक ग्राम स्थापनाका लागि प्रदेश ४ को उद्योग, वन तथा वातावरण मन्त्रालयमा सिफारीस गरिएको हो । कार्यपालीकाको बैठकले ग्राम स्थापनाका लागि रुईसेको विकल्पमा दर्मीजालाई बैकल्पीक स्थानको रुपमा सिफारीस गरेको छ ।

 

मन्त्रालयको परिपत्र अनुसार पाँच सय रोपनी जग्गा उपलब्ध भएको स्थान छनौट गरि कार्यपालीकाको बैठकबाट निर्णय गरी सिफारीस गरिएको गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । प्रदेश ४ को संसदमा शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमा एक स्थानीय तह एक आद्योगीक ग्राम कार्यक्रमका लागि १२ करोड बिनियोजन भएको छ ।  गाउँपालिकाले चालु आर्थिक वर्षका लागि बजेट बिनियोजन गरेका १४५ वटा पूर्वाधार सम्बन्धि योजना मध्य २०७५ जेठ मसान्तसम्म १३१ वटा सम्पन्न भैसकेको प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाईले बताउनुभयो ।

२४ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेको गाउँपालीकाले वडा कार्यालय मार्फत उद्योग, फर्म र पसल दर्ता सुरु गरेको छ । पसल, ब्यवसाय दर्ताका लागि दुई हजार रुपैया शूल्क निर्धारण गरिएको छ । सवारी शूल्क, उद्योग, पसल, ब्यवसाय दर्ता, सिफारीस दस्तुर र सवारी शूल्कलाई गाउँपालीकाले आन्तरीक आयस्रोत बताएको छ । थप आम्दानीको स्रोत पहिचान गरी करको दायरामा ल्याउने गाउँपालकिाका उपाध्यक्ष कमला तिलीजाले बताउनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षमा गाउँपालीकाका ८ वटै वडामा एउटा गौरवको योजना सञ्चालन गर्ने तयारी गरीएको छ ।

गाउँपालीकाको बस्तुगत विवरण तयार भैसकेको छ । स्थानीय सरकार सञ्चालन सम्बन्धि १३ वटा कार्यबिधी तथा कानुन निर्माण गरिएको छ । आगामी आर्थिक वर्षमा पूर्वाधार सम्बन्धि तिन लाख रुपैया भन्दा कम बजेटका योजना छनौट नगर्ने निर्णय भएको छ । टुक्रे योजनालाई निरुत्साहीत गरी धेरै बस्ती र जनसंख्यालाई फाईदा पुग्ने प्रभावकारी किसीमका योजना सञ्चालन गर्ने निती लिइएको अध्यक्ष भण्डारीले बताउनुभयो । वडालाई ३३ देखि ४४ लाख रुपैया भित्रको सिलीङमा रहेर योजना छनौट गर्न निर्देशन दिइएको छ ।