मालिका मन्दिर र धौलागिरि हिमालको प्रतिविम्म देखिने बिमको बराहा ताल पूर्वाधारको पर्खाइमा

  • ४ असार २०७५, सोमबार
  • ध्रुवसागर शर्मा
  • 3101 पटक पढिएको

म्याग्दी, ४ असार । म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ विमको बाइन्दाफाँट विमराङमा रहेको बराहा ताल प्रचूर पर्यटकीय महत्वको ताल भएरपनि पूर्वाधार निर्माण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । करिब आधारोपनी क्षेत्रफलमा फैलिएको यो तालमा म्याग्दीकै प्रशिद्ध धार्मिक स्थल मालिका मन्दिर र धौलागिरि हिमालको प्रतिविम्म देखिन्छ ।

त्यसका साथै गुर्जा हिमालको मनमोहक दृश्य र सुन्दर गामिण वस्तीहरु,वन जङ्गल,पहाड यहाँबाट देख्न सकिन्छ ।जैविक विविधताका अनेक सम्पदाहरुलाई समेटको बराहा ताल प्राकृतिक सुन्दरताका साथै धार्मिक हिसावले पनि महत्वपूर्ण मानिने स्थानीय देउप्रसाद फगामीले बताउनुभयो । बाइन्दाफाँट गाउँको शिरानमा अवस्थित गोलो आकारको बराहाताललाई धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयले सरोकारवाला निकायसंग माग गरेका छन् ।


आधा रोपनी क्षेत्रफलमा फैलिएको,तीन मिटर भन्दा गहिरो र समुद्री सतहदेखि २ हजार ३ सय मिटरको उचाइमा अवस्थित यस तालको माथिल्लो पट्टी बराहा थान रहेको छ । सोही बराहा थानको नजिकै रहेको पानीको मूलबाट ताल बनेको स्थानीयले बताएका छन् । यसतालको संरक्षण र प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्ने हो भने आन्तरिक तथा बाह् य पर्यटकहरुका लागि यो ताल आकर्षणको केन्द्र बन्न सक्ने स्थानीय रामवहादुर पुनको भनाइ रहेको छ । यस तालमा रहेको जलवराहाको पुजाआजा तथा भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।

वडा कार्यालयले मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि यहाँसम्म पुगेको सडकलाई विस्तार गरेर प्रशिद्ध धार्मिक स्थल मालिकाको धुरी सम्म जोड्ने तयारी गरेको र यसको संरक्षण तथा प्रचारप्रसारका लागि एकिकृत योजना बनाइएको मालिका गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो ।

ध्रुवसागर शर्मा