रघुगंगा जलविद्युतको काम अगाडी बढ्यो, ठेकेदार कार्यक्षेत्रमा परिचालन

  • ३१ जेष्ठ २०७५, बिहीबार
  • कमल खत्री/ सन्ताेष गाैतम
  • 2304 पटक पढिएको

म्याग्दी ३१ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा निर्माण हुन लागेको बहुप्रतिक्षीत जलविद्युत आयोजना रघुगंगा जलविद्यूत आयोजनको निर्माण कार्यले गति लिने संकेत देखिएको छ । भारतीय एक्जीम बैँकले ठेक्का सम्झौताको स्विकृती दिएसंगै सिभिल ठेकेदार कार्यक्षेत्रमा परिचालन भएको छ ।

फाइल तस्बिर : म्याग्दीअनलाइन डटकम

नेपाल विद्युत प्राधिकरणको सत प्रतिशत लगानी रहेको रघुगंगा हाईड्रोपावर लिमिटेडले बनाउन लागेको ४० मेगावाट क्षमत्ताको यस आयोजना निर्माणको ठेक्का सम्झौता भएको ६ महिनापछि ठेकेदारले काम सुरु गरेको हो । छ अर्व रुपैयामा ठेक्का सम्झौता गरेको भारतीय कम्पनी जेपी एसोसियट्सले कार्यक्षेत्रमा प्रारम्भिक चरणको नक्साङ्कनको काम सुरु गरेको कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताउनुभयो ।

“ऋण लगानीकर्ता भारतीय एक्जीम बैङ्कले ठेक्का सम्झौताको स्विकृती दिएको जेठ १० गतेको भोलिपल्टनै हामीले ठेकेदारलाई नोटीस टु प्रोग्रेस लेटर दिएका थियौ” पाण्डेले भन्नुभयो “ठेकेदार कम्पनीले डिजाईन र व्यवस्थापनको काम सुरु गरेको छ ।” सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युतगृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाउने जनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा ईलेक्ट्रीमेकानीक ठेक्काको प्रक्रिया समेत अघि बढेको छ । आगामी ३९ महिनामा आयोजना सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।

२०७४ मंसिर ५ गते भएको ठेक्का सम्झौताको स्वीकृतीका लागि एक्जीम बैङ्कले छ महिना लगाउँदा ठेकेदार कम्पनीलाई कार्यक्षेत्रमा परिचालन हुन ढिलाई भएको हो । एक्जीम बैंकको ४४ मिलीयन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणा अनुसार निर्माण हुन लागेको प्रबन्ध सञ्चालक पाण्डेले बताउनुभयो ।

आयोजना निर्माणको चरणमा प्रवेश गरेपछि सर्वसाधारण र स्थानीय बासिन्दाले लगानीको अवसर पाउनेछन् । इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा आयोजना निर्माण हुन लागेको हो । यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको छ । यसअघि छनौट भएको भारतको आइभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना बनाउन लागिएको हो । आरभीआरसीएलसंग सम्झौता भएको आयोजना ७ वर्षपछि पुनः ठेक्का लगाइ निर्माण सुरु हुन लागेको हो ।

कार्य तालिका र सम्झौता अनुसार आयोजना सन् २०७० सालमा सकिनुपर्ने थियो । यो आयोजना नदीको बहावमा आधारित छ । यसको संभाव्यताको अध्ययन सन् १९९८ मा भइ सन् २००८ मा अद्याविधक गरेको थियो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरीसकेको छ । आयोजना म्याग्दीको रघुगंगा गाउँपालीकाको पिप्ले, झी र दग्नाममा पर्छ । झिँ र दग्नामको सिमामा बाँध रहेको आयोजनाको विद्युतगृह पिप्लेको तिल्केनीचौरमा रहने जनाइएको छ । आईभीआरसीएलले प्रारम्भिक चरणको काम समेत अघि बढाउन नसकेर अलपत्र पारेको थियो । राहुघाट कालिगण्डकीको सहायक नदी हो ।

कमल खत्री/ सन्ताेष गाैतम