डडुवामा सामुदायिक बनको बाँझो जमिनमा स्थानीयले यसरी आलु फलाए (भिडियो सहित)

  • ३१ जेष्ठ २०७५, बिहीबार
  • 4257 पटक पढिएको

म्याग्दी, ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका स्थानीयबासीले सामुदायिक बनक्षेत्रमा पर्ने बाँझो जमिनमा परिक्षणको रुपमा गरेको आलु खेती सफल भएको छ । स्थानीय भेडाखोर सामुदायिक बन उपभोक्ता समितिले बन क्षेत्रको बाँझो खेतीयोग्य जमिनलाई उपोग गर्ने निती अनुरुप यस बर्ष श्रमदान गरि ३३ पाथी आलु रोपण गरेका थिए ।

परिक्षणको रुपमा गरिएको उक्त आलुखेतीबाट १० मुरी आलु उत्पादन भएको छ । लिफ्ट खानेपानीको रिजर्भ ट्यांकी निर्माण गर्ने क्रममा उक्त ठाउँको माटो खुकुलो भएको महसुस भएपछि भेडाखोर सामुदायिक बनका अध्यक्ष बलबहादुर बानियाँ, खानेपानी निर्माण उपभोक्ता समितिका तत्कालिन अध्यक्ष मोहन बहादुर भण्डारी, स्थानीय अगुवा होम बहादुर खत्री (राजु) , बेनपा–५ का वडा सदस्य तोप कार्की लगायतको पहलमा गाउँभेलामा छलफल गरि सामुहिक रुपमा उक्त आलु रोपण गरिएको थियो ।

बाँझो जमिनलाई उपयोग गरि सामुहिक आलुखेतीलाई आगामी बर्ष पनि निरन्तरता दिने सामुदायिक बन उपभोक्ता समितिका सचिब खिम बहादुर खत्रीले बताउनभुयो । उहाँले आगामी साउनमा सो जग्गामा मुला खेती गर्ने तयारी गरेको समेत बताउनुभयो । यस बर्ष आलु भण्डारण स्थान नभएकाले सामुहिक रुपमा उत्पादन गरिएको आलुलाई स्थानीयबासीलाई नै प्रतिपाथी रु ९० रुपैयाँको दरले विक्रि गरिएको छ ।


आगामी सिजनमा उत्पादन हुने आलुलाई भण्डारण गर्नको लागि कोल्ड स्टोर निर्माणको लागि स्थानीयले योजना माग समेत गरेका छन् । आलु खेती गरिएको ठाउँलाई घेराबार समेत गरिएको र खानेपानीको ट्यांकीबाट बढी भएर बग्ने पानीलाई उपयोग गरि सिचाईको समेत व्यवस्था मिलाईएको बन उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र पाईजा (अञ्जन)ले जानकारी दिनुभयो ।

तस्बिर साैजन्य : राजु केसी