विश्व रक्तदाता दिवसमा रक्तदान, ३४ पिन्ट रगत सङ्कलन

  • ३१ जेष्ठ २०७५, बिहीबार
  • प्रताप बानियाँ
  • 2301 पटक पढिएको

म्याग्दी ३१ जेठ । अरुका लागि पनि सेवाभाव जगाऔं, रक्तदान गरौं, जीवन बाँडौं भन्ने नारासहित जुन १४ २०१८ को अवसरमा बिहीबार म्याग्दीको बेनीमा विश्व रक्तदाता दिवस मनाइएको छ । लायन्स क्लब अफ म्याग्दी दोभान र नेपाल स्वयंसेवी रक्तदाता समाज म्याग्दीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमसहित दिवस मनाइएको हो ।


दिवसका अवसरमा सञ्चालित रक्तदान कार्यक्रममा विभिन्न ३४ जनाले रक्तदान गरेका छन्भने ३४ पिन्ट रगत सङ्कलन भएको छ । कार्यक्रममा जिल्लास्थित रेडक्रसकर्मी, लायन्स क्लबका सदस्यहरु, कर्मचारी, स्वास्थ्यकर्मी, विद्यार्थी, सर्वसाधारणहरुले रक्तदान गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख देवेन्द्र केसीले रक्तदान नै जीवनदान भएको बताएका छन् । उनले रक्तदानमार्फत एकले अर्कालाई बचाउनु मानवीय कार्य समेत भएको बताउँदै रक्तदान कार्यलाई समाजमा सकारात्मक सन्देशका रुपमा लैजानुपर्ने बताएका थिए ।


म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले रक्तदान कार्य सराह्रनीय रहेको बताए । रेडक्रस म्याग्दीका उपमन्त्री सुरत केसीले २०६५ सालबाट हालसम्म म्याग्दीमा ११ सय ४५ जनाले रक्तदान गरेको जानकारी गराएका थिए ।

स्वयंसेवी रक्तदाता समाज म्याग्दीका अध्यक्ष दीपक पौडेलको अध्यक्षता र सचिव सविना चोखालको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष गीता रिजाल शर्माले स्वागत गरेकी थिइन् ।

प्रताप बानियाँ